Butwal Today

बाफुखोला तर्ने क्रममा दुई जना बगे, एकको मृत्यु

८ भाद्र २०८३, सोमबार
अ+
अ-

सल्यान । सल्यानको बागचौरमा साँझको समयमा उर्लिएको बाफुखोला तर्ने क्रममा दुई जनालाई खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

सोमबार साँझ करिब ७स्०० बजे बागचौर नगरपालिका वडा नम्बर ११ स्थित बाफुखोला तर्ने क्रममा रोल्पाको गंगादेव गाउँपालिका, ४ निवासी ७२ वर्षीय देउरुप डाँगी र सल्यानको बागचौर नगरपालिका, ११ कुकुरगारे निवासी ४७ वर्षीय भीमबहादुर वलीलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

खोलाले बगाएका डाँगीलाई बगेको स्थानबाट करिब पाँच सय मिटर तल मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए । यस्तै भीमबहादुर वलीलाई खोलाले बगाएको स्थानबाट करिब ५० मिटर तल अचेत अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । गम्भीर अवस्थामा रहेका वलीको उपचार भइरहेको छ ।

प्रहरीका अनुसार दुवै जना कामको सिलसिलामा बागचौर नगरपालिका ११ स्थित पानीचौर पुगेका थिए । काम सकेर फर्किने क्रममा साँझ बाफुखोला तर्ने प्रयास गर्दा उनीहरूलाई खोलाले बगाएको हो । घटनाबारे स्थानीयले साँझ करिब ८ बजे प्रहरीलाई जानकारी गराएपछि बाफुखोला प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?