© 2026
मेक्सिको सिटी ।
जुड बेलिङ्घमकोे दुई गोलको मद्दतमा १० खेलाडीमा सीमित इङ्गल्यान्डले आजबिहान भएको खेलमा मेक्सिकोलाई ३–२ ले पराजित गर्दै विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
एस्टाडियो एज्टेकामा भएको खेलमा बेलिङ्घमले पहिलो हाफमा ९८ सेकेन्डको अन्तरमा दुई गोल गर्दै इङ्गल्यान्डलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान ह्यारी केनले दोस्रो हाफमा पेनाल्टीमार्फत अर्को गोल थपे ।
जारेल क्वान्साहले ५४औँ मिनेटमा रातो कार्ड पाएपछि इङ्गल्यान्ड १० खेलाडीमा सीमित भएको थियो । त्यसको छ मिनेटपछि एन्थोनी गोर्डनमाथि भएको फाउलमा प्राप्त पेनाल्टीलाई केनले गोलमा परिणत गर्दै टोलीको अग्रता ३–१ बनाएका थिए ।
मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमेनेजले एक–एक गोल गरे । जिमेनेजले दोस्रो हाफमा पेनाल्टीमार्फत गोल गरेका थिए । त्यसपछि घरेलु टोलीले बराबरीका लागि दबाब बढाए पनि इङ्गल्यान्ड अग्रता जोगाउन सफल भयो ।
यो जितसँगै इङ्गल्यान्ड लगातार तेस्रो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ । अब उसले अन्तिम आठमा नर्वेको सामना गर्नेछ ।
इङ्गल्यान्डका प्रशिक्षक थोमस टुचेलले कठिन परिस्थितिमा पनि आफ्ना खेलाडीले संयम कायम राख्दै जित निकाल्न सफल भएको प्रतिक्रिया दिए ।
खेलअघि मेक्सिको सिटीमा आएको आँधीबेहरी र वर्षाका कारण निर्धारित समयभन्दा एक घण्टा ढिलो खेल सुरु भएको थियो । समुद्री सतहबाट दुई हजार २४० मिटर उचाइमा रहेको एज्टेका रङ्गशालामा ८० हजारभन्दा बढी दर्शक उपस्थित थिए ।
इङ्गल्यान्डले खेलको सुरुमै बेलिङ्घमकोे हेडमार्फत गोल गर्दै अग्रता लिएको थियो । त्यसको केही समयपछि केनको पासमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।
पहिलो हाफको अन्त्यतिर क्विनोनेसले गोल गर्दै मेक्सिकोलाई खेलमा फर्काउने प्रयास गरेका थिए । दोस्रो हाफमा क्वान्साह रातो कार्ड पाएपछि इङ्गल्यान्ड दबाबमा परे पनि केनको पेनाल्टी गोलले टोलीलाई राहत दिलायो ।
अन्तिम २० मिनेटमा जिमेनेजले पेनाल्टीमार्फत मेक्सिकोको दोस्रो गोल गरे पनि इङ्गल्यान्डले बाँकी समय सफलतापूर्वक रक्षा गर्दै अन्तिम आठमा स्थान सुरक्षित ग¥यो ।