© 2026
काठमान्डौँ ।
राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कर्णालीमा भएको बस दुर्घटनापछि उद्धार कार्यमा सरकारले चासो नदेखाएको भन्दै प्रतिनिधिसभामा आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भीरमा अड्किएका यात्रुले बारम्बार गुहार माग्दा पनि समयमै उद्धार हुन नसकेको बताए ।
उनले भने, ‘भीरमा अड्किएर उहाँले जीवनको भीख मागिराख्नुभएको थियो । उहाँहरूको गुहारले नदीको किनार थर्कियो । डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो । स्वरसँगै उहाँको जीवन पनि समाप्त भयो । गाडी नदीमा डुब्यो र भीरमा अड्केको मान्छेको मृत्यु भयो । डाँको लगाउँदा लगाउँदै स्वर सुक्यो, आशा सक्कियो, तर उद्धार आएन । त्यही बेला आकाशमा एउटा हेलिकप्टर देखियो । तर त्यो उद्धारका लागि थिएन, मन्त्रीज्यूको सवारीका लागि थियो ।’
शाहीले उद्धारका लागि हेलिकप्टर परिचालन नगरी सरकारका मन्त्रीहरू भने कर्णालीको आकाशमा हेलिकप्टरमा सवारी गरिरहेको आरोप लगाए ।
उनले भने, ‘यता प्रदेशसभामा भाग पुगेन भन्दै सांसदहरू भागबण्डाका लागि एकआपसमा झगडा गरिरहेका थिए । उद्धार टोलीसँग आवश्यक साधन थिएन । हेलिकप्टर आकाशमा घुम्दै गर्दा पनि एउटा हेलिकप्टर उद्धारका लागि पठाउने क्षमता यो सरकारसँग भएन ।’
शाहीले कर्णाली पनि नेपालकै हिस्सा हो कि होइन भन्ने प्रश्न उठाउँदै सरकारले त्यस क्षेत्रका नागरिकप्रति विभेद गरेको आरोप लगाए ।
उनले भने, ‘आज मन्त्रीहरू हेलिकप्टरमा सयर गर्दा कर्णालीमा नागरिक डुब्दै गर्दाखेरि उद्धार गर्न नहुने ? के कर्णालीका जनता यो देशका नागरिक हुन् कि होइनन् ? यसको जवाफ आज दिनुपर्छ । यो संसद्मा रुलिङ हुनुपर्छ । कर्णालीका नागरिकहरूले बाँच्न पाउने अधिकार छ कि छैन ? के कर्णालीका युवाहरू यो देशको भविष्य हुन् कि होइनन् ? कि हामी कर्णालीमा जन्मिनु नै हाम्रो अभिशाप हो ?’