© 2026
नेपालगन्ज । २०६२/६३ मा भएको जनआन्दोलनमा तोडफोड गरेर फालिएको स्वर्गीय राजा वीरेन्द्रको सालिकलाई दुई दशकपछि नेपालगन्जमा पुनर्स्थापना गरिएको छ ।
यससँगै जेनजी आन्दोलनको बेला गत भदौ २४ गते तोडफोड गरेर भत्काइएका बिपी, गणेशमान र सहिद सेतु विकको सालिक पनि पुरानै ठाउँमा पुनर्स्थापना गरिएको छ ।
नेपालगन्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले स्वर्गीय राजा वीरेन्द्रको सालिकलाई वीरेन्द्र चोकमा पुनः स्थापना गर्नुका साथै जेनजी आन्दोलनमा भत्काइएको बिपी कोइरालाको सालिकलाई बिपी चोकमा, गणेशमान श्रेष्ठको सालिकलाई गणेशमान चोक, पुष्पलाल श्रेष्ठको सालिकलाई पुष्पलाल चोक र सहिद सेतु विकको सालिकलाई सेतु विक चोकमा शुक्रवार मध्यरातमा पुनर्स्थापना गरिएको बताए ।
उनले जिल्लास्थित सर्वदलीय र सर्वपक्षीय सहमति पश्चात् नगर कार्यपालिका (बोर्ड) बैठकबाट निर्णय गरेर जेनजी आन्दोलनमा भत्काइएका सालिकहरूसहित स्वर्गीय राजा वीरेन्द्रको सालिक पनि पुनः स्थापना गरिएको जानकारी दिए ।
उनले दिउँसोको समयमा सडकमा मानिसहरूको आवत–जावतका कारण काम गर्न असहज हुने भएकाले रातको समयमा सालिक ठड्याइएको बताए ।
जेनजी आन्दोलनमा भत्काइएका बिपी, गणेशमान, पुष्पलाल र सेतु विकको सालिक पुनर्स्थापना गरिएकोमा नेपाली काँग्रेसका युवा नेता सुधांशु कोइराला र नेकपा एमालेका नेता कृष्ण प्रसाद श्रेष्ठ लगायतले खुसी व्यक्त गरेका छन् ।
सो अवसरमा उपस्थित मातृभूमि नवनिर्माण अभियानको पहलमा गठन गरिएको स्वर्गीय राजा वीरेन्द्रको सालिक निर्माण पुनः स्थापना समितिका संयोजक तेज विक्रम शाहले २० वर्षको प्रयासपछि सबैको सहयोग र सद्भावले वीरेन्द्रको सालिक पुनः स्थापना गर्न सफल भएको बताए । त्यस्तै राष्ट्रवादी युवा मोहम्मद खालिद ईराकीले राजाको सालिक पुनर्स्थापनाका लागि विगतमा घाइते समेत भएको स्मरण गर्दै अहिले पुनर्स्थापना भएकोमा खुसी लागेको बताए ।
जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गतेका दिन नेपालगन्जमा प्रथम जन निर्वाचित प्रधानमन्त्री स्वर्गीय बिपी कोइराला, पुष्पलाल श्रेष्ठ, गणेशमान सिंह र सहिद सेतु विकको सालिक तोडफोड गरिएकोमा स्थानीयले पुनर्स्थापनाको माग गर्दै आएका थिए । त्यस्तै स्वर्गीय राजा वीरेन्द्रको सालिक पनि पुनर्स्थापनाको माग स्थानीय स्तरबाट निरन्तर हुँदै आएको थियो ।