© 2026
झापा । गृहमन्त्री सुधन गुरुङले झापाको मेचीनगर–१५ स्थित जोरसिमलमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त अस्थायी चेकपोस्ट तत्काल हटाउन निर्देशन दिएका छन्। सीमा क्षेत्रको सुरक्षा अवस्थाको अनुगमन तथा चेकपोस्ट निरीक्षणका क्रममा सुरक्षाकर्मीहरू आधारभूत सुविधाविहीन जीर्ण जस्तापाताको टहरोमा बसिरहेको अवस्था देखेपछि उनले तत्काल सुधार गर्न निर्देशन दिएका हुन्।
तीन दिने पूर्वी नेपाल भ्रमणका क्रममा विराटनगर पुगेका गृहमन्त्री गुरुङले मोरङ, सुनसरी र धनकुटाको सुरक्षा अवस्थाको समीक्षा गरेपछि आइतबार झापा पुगेर सीमा क्षेत्रको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा जोरसिमलस्थित संयुक्त चेकपोस्टमा खटिएका सुरक्षाकर्मीहरू अत्यन्तै असहज र जीर्ण संरचनामा बस्न बाध्य भएको देखेपछि उनले त्यसप्रति असन्तुष्टि जनाउँदै तत्काल वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएका हुन्।
अनुगमनका क्रममा सुरक्षा निकायका उच्च अधिकारीहरूले सो क्षेत्र सीमा सुरक्षाका दृष्टिले संवेदनशील भएकाले प्रहरीको निरन्तर उपस्थिति आवश्यक रहेको जानकारी गराएका थिए। उनीहरूले चेकपोस्टमा खानेपानी, शौचालय, विश्रामस्थललगायत न्यूनतम आधारभूत सुविधासमेत नभएको र वर्षौंदेखि अस्थायी संरचनामै काम गर्नुपरेको अवस्था रहेको बताएका थिए।
त्यसपछि गृहमन्त्री गुरुङले सुरक्षाकर्मीलाई यस्तो अमानवीय अवस्थामा राख्न नसकिने स्पष्ट पार्दै भने, “यो संरचना नराख्नुस्, आजै यहाँबाट निकाल्नुस्। सुरक्षाका लागि बरु चेकपोस्टलाई अगाडि बढाएर व्यवस्थित बनाउनुस्। बोर्डर क्षेत्रमा कडाइ गर्नुस्, तर सुरक्षाकर्मीलाई यस्तो अवस्थामा राख्न मिल्दैन।”
उनले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउनु आवश्यक भए पनि त्यसका लागि खटिने सुरक्षाकर्मीको मनोबल, सुरक्षा र आधारभूत सुविधा सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताए। सुरक्षाकर्मीले सम्मानजनक वातावरणमा सेवा गर्न पाउनुपर्नेमा उनले जोड दिए।
गृहमन्त्री गुरुङले सीमा सुरक्षा पोस्ट व्यवस्थित बनाउन स्थानीय वडा कार्यालय र मेचीनगर नगरपालिकाले समेत अपेक्षित चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे। सुरक्षाकर्मीका लागि आवश्यक पूर्वाधार निर्माण तथा बजेट व्यवस्थापनमा स्थानीय तहले पनि जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै गृह मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
स्थलगत निरीक्षणपछि गृहमन्त्रीसहितको टोलीले सीमा सुरक्षा प्रणालीलाई थप व्यवस्थित, प्रविधिमैत्री र प्रभावकारी बनाउने विषयमा सुरक्षा प्रमुखहरूसँग विस्तृत छलफल गरेको थियो। छलफलमा सीमा निगरानी प्रणाली सुदृढ बनाउने, आवश्यक पूर्वाधार विस्तार गर्ने तथा सुरक्षाकर्मीको कार्य वातावरण सुधार गर्ने विषयमा पनि चर्चा भएको जनाइएको छ।अनुगमनमा झापाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका जिल्ला प्रमुख, सशस्त्र प्रहरी बलका जिल्ला प्रमुख तथा गृह मन्त्रालयका अन्य अधिकारीहरूको समेत सहभागिता रहेको थियो।