Butwal Today

सिक्टा सिँचाइ आयोजना भौतिक प्रगति ५०.५० प्रतिशत

२१ असार २०८३, आइतबार
अ+
अ-

बाँके । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना निर्धारित समयसीमाभित्र सम्पन्न गर्न सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्। आयोजनाको सफल कार्यान्वयनले बाँके जिल्लाको कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वास उनले व्यक्त गरे।आयोजनाको स्थलगत निरीक्षणपछि कर्मचारी तथा लाभान्वित किसानसँगको अन्तरक्रियामा मन्त्री श्रेष्ठले सरकारले आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्दै निर्माण कार्यलाई तीव्रता दिन निर्देशन दिए। आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक ऐन–कानुन तथा प्रशासनिक प्रक्रियामा रहेका जटिलता समाधानका लागि पहल गर्ने र बहुवर्षीय ठेक्का तथा सहमतिसम्बन्धी प्रक्रियालाई थप सरल र प्रभावकारी बनाइने उनले बताए।

मन्त्री श्रेष्ठले नहर क्षेत्रको अतिक्रमण, प्रदूषण तथा अनियन्त्रित सहरीकरणका कारण सिँचित क्षेत्र क्रमशः संकुचित हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै नहर संरक्षणलाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए। सिँचाइ पूर्वाधारसँगै किसानका खेतसम्म पानी पुर्‍याउने, कृषि उत्पादनको बजारीकरण, गुणस्तरीय बीउ–मलको उपलब्धता तथा कृषि मूल्य शृङ्खला विकासमा सरकारले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाए।

राप्ती सोनारी गाउँपालिका–अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरी सञ्चालनमा रहेको सिक्टा सिँचाइ आयोजना नेपाल सरकारकै स्रोतबाट आर्थिक वर्ष २०६१/६२ मा सुरु गरिएको हो। आयोजनाले बाँकेका राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका र नेपालगञ्ज उपमहानगरपालिकाका ४२ हजार ७६६ हेक्टर कृषियोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ।

आर्थिक वर्ष २०६८/६९ मा राष्ट्रिय गौरवको आयोजनाका रूपमा सूचीकृत यस आयोजनाको अनुमानित लागत करिब ५२ अर्ब ८९ करोड रुपैयाँ रहेको छ। हाल दोस्रो चरणको काम भइरहेको आयोजना आर्थिक वर्ष २०८९/९० भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। आयोजनाका अनुसार हालसम्म ५०.५० प्रतिशत भौतिक र ४५.५३ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। यस अवधिसम्म २४ अर्ब ८ करोड रुपैयाँ खर्च भइसकेको छ भने करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भइसकेको छ।

हालसम्म अगैयामा ३१७ मिटर लामो ब्यारेज, डिसिल्टिङ बेसिन, फ्लसिङ च्यानल, पश्चिमी तथा पूर्वी मूल नहरका अधिकांश संरचना, शाखा तथा उपशाखा नहर, तटबन्ध, लिफ्ट सिँचाइ प्रणाली तथा अन्य पूर्वाधार निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?