Butwal Today

माग सम्बोधनको प्रतिबद्धतापछि सुस्तावासीले स्थगित गरे आन्दोलन

२१ असार २०८३, आइतबार
अ+
अ-

बुटवल । सीमा अतिक्रमण रोक्न, नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने मागसहित काठमाडौँमा आन्दोलन गरिरहेका नवलपरासीको सुस्ता क्षेत्रका बासिन्दाले गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता आएपछि आन्दोलन स्थगित गरेका छन् ।

गत मंगलबारदेखि काठमाडौँमा धर्ना तथा प्रदर्शन गर्दै आएका आन्दोलनकारी आइतबार बिहान सुस्ता फर्किएको आन्दोलनका संयोजक बाबु खाँले जानकारी दिए ।

उनका अनुसार गृह मन्त्रालयले सुस्ता क्षेत्रको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै थप सुरक्षाकर्मी परिचालन गर्ने, नागरिकता नपाएका व्यक्तिको विवरण सङ्कलन गर्ने तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नागरिकता उपलब्ध गराउने विषयमा पहल गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलन स्थगित गर्ने निर्णय गरिएको हो ।

संयोजक खाँले सुस्ता फर्किएपछि जिल्ला प्रशासन कार्यालयसँग थप छलफल गर्ने तयारी रहेको बताए । आइतबार सार्वजनिक बिदा परेकाले सोमबार आन्दोलनकारीहरूको टोली जिल्ला प्रशासन कार्यालय पुगेर गृह मन्त्रालयको प्रतिबद्धता कार्यान्वयनका विषयमा छलफल गर्ने योजना रहेको उनले बताए ।

सीमा अतिक्रमण रोक्न, भूमि संरक्षण गर्न तथा वर्षौँदेखि बसोबास गर्दै आएका स्थानीयलाई नागरिकता र लालपुर्जा उपलब्ध गराउनुपर्ने मागसहित ५० भन्दा बढी सुस्तावासी काठमाडौँ पुगेका थिए ।

आन्दोलनका क्रममा उनीहरूले गौशालादेखि नारा–जुलुससहित माइतीघर मण्डलासम्म प्रदर्शन गर्दै धर्ना दिएका थिए । गृह मन्त्रालयबाट माग सम्बोधन गर्ने प्रतिबद्धता जनाइएपछि उनीहरूले हालका लागि आन्दोलन स्थगित गरी गाउँ फर्किएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?