© 2026
दाङ । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटमाथि मन्त्रालयगत तथा समूहगत छलफल असार २२ र २३ गते हुने भएको छ। आइतबार बसेको लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशनको १२औँ बैठकले प्रदेश सञ्चित कोषबाट रकम खर्च तथा विनियोजन गर्ने सम्बन्धी विधेयकमाथि विभिन्न मन्त्रालय र सम्बन्धित निकायका शीर्षकहरूमा समूहगत छलफलका लागि समय निर्धारण गरेको हो। छलफलका क्रममा उठ्ने प्रश्न र जिज्ञासाको जवाफ मुख्यमन्त्री चेतनारायण आचार्य र आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूची तय गरिएको छ।
प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले आठौँ अधिवेशनको १३औँ बैठक सोमबार बिहान ८ बजे बस्ने जानकारी दिँदै बजेटसँग सम्बन्धित मन्त्रालयगत शीर्षकहरूमाथि विस्तृत छलफल अघि बढाइने बताए।
यसअघि आइतबार बसेको १२औँ बैठकमा आर्थिक वर्ष २०८३/०८४ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धी विधेयकमाथिको सैद्धान्तिक छलफल सम्पन्न भएको थियो। मन्त्री धनेन्द्र कार्कीले विधेयक प्रस्तुत गर्नुभएको थियो भने सत्ता पक्ष र प्रतिपक्षका प्रदेशसभा सदस्यहरूले बजेटमाथि आफ्ना धारणा राखेका थिए।
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३७ अर्ब ३८ करोड ४५ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ। बजेटमध्ये पूँजीगततर्फ २२ अर्ब ७१ करोड ६५ लाख ४० हजार रुपैयाँ र चालुतर्फ ११ अर्ब ११ करोड २७ लाख १० हजार रुपैयाँ विनियोजन गरिएको छ।