© 2026
नवलपरासी ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ खरकट्टा जङ्गलस्थित पूर्व–पश्चिम राजमार्गमा अज्ञात सवारीसाधनको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) का अनुसार गए राति नम्बर नखुलेको सवारीसाधनले हुप्सेकोट गाउँपालिका–५ निवासी वर्ष २३ का तिलबहादुर राना मगरलाई ठक्कर दिएको थियो । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेका उनलाई ट्राफिक प्रहरीको टोलीले उद्धार गरी तत्काल मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डामा उपचारका लागि पु¥याएको थियो ।
टाउको र निधारमा गम्भीर चोट लागेका राना मगरलाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज रिफर गरिएको थियो । उपचारकै क्रममा बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
दुर्घटनामा संलग्न अज्ञात सवारीसाधनको खोजी तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।