© 2026
काठमान्डौँ ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा यात्रुवाहक गाडी दुर्घटना हुँदा एक जनाको शव फेला परेको छ भने अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।
सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र.०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी बुधबार बिहान करिब ११ः३० बजे अनियन्त्रित भई करिब ६००–७०० मिटर तल कर्णाली नदीमा खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनापछि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा प्रहरी चौकी पाल्तडाबाट उद्धार टोली परिचालन गरिएको छ ।
दुर्घटनास्थलबाट करिब ४०० मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला परेको छ । उक्त शव नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उद्धार गरी सडकसम्म ल्याउने प्रयास गरिरहेको छ ।
गाडीमा कति जना सवार थिए भन्ने विवरण अझै यकिन हुन नसकेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन् । अन्य यात्रुको खोजी तथा उद्धार कार्य जारी रहेको छ ।