© 2026
काठमान्डौँ ।
हेल्मेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन् ।
मुख्यमन्त्री निवास परिसरमा शाहले हेल्मेट नलगाई बुलेट मोटरसाइकल चलाएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि चौतर्फी आलोचना भएको थियो ।
आलोचनापछि ट्राफिक प्रहरी मुख्यमन्त्री निवासमै पुगेर कारबाहीस्वरूप चिट काटेको हो । शाहलाई थमाइएको चिटमा ‘हेल्मेट नलगाई सवारी चलाएको’ कसुर उल्लेख गरिएको छ ।
उक्त कसुरमा उनलाई ५०० रुपैयाँ जरिवाना गरिएको छ ।
पत्रकारहरूसँग कुरा गर्दै शाहले आफूबाट ट्राफिक नियम उल्लङ्घन भएको स्वीकार गरेका छन् । उनले नियमअनुसार कारबाही गर्न आफूले नै ट्राफिक प्रहरीलाई आग्रह गरेको बताए ।
उनले भने, ‘म ट्राफिक प्रहरीलाई धन्यवाद दिन्छु । कानुन सबैका लागि समान हुनुपर्छ । ठूला व्यक्तिलाई कानुन नलाग्ने भन्ने हुँदैन । कानुनले गरेको व्यवस्था अनुसार सबैले कारबाही भोग्नुपर्छ ।’
पद वा हैसियतका आधारमा कानुन कार्यान्वयनमा कुनै भेदभाव हुन नहुने उल्लेख गर्दै शाहले सबै नागरिकलाई ट्राफिक नियमको पालना गर्न आग्रह गरेका छन् ।
मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव प्रयागराज खनालले आफ्नो टिकटकमार्फत शाहले हेल्मेटबिना मोटरसाइकल चलाएको भिडियो सार्वजनिक गरेका थिए ।
केही समययता दिनभर वैशाखीको सहारामा हिँडिरहेका मुख्यमन्त्री साँझ मोटरसाइकल चलाएको दृश्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको थियो ।