Butwal Today

तरकारी र फलफूलको आकस्मिक विषादी परीक्षणः १६ वटै नमुना उपभोगका लागि पूर्ण सुरक्षित

१८ असार २०८३, बिहीबार
अ+
अ-

सिद्धार्थनगर ।

बुटवलस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाईले विभिन्न तरकारी तथा फलफूलको विषादी अवशेष परीक्षण गरेको छ । नेपाल सरकार, कृषि, वन तथा वातावरण मन्त्रालय अन्तर्गत कृषि विभागको केन्द्रीय कृषि प्रयोगशालाको मातहत रहेको उक्त प्रयोगशालाले परीक्षण गरिएका नमुनाको नतिजा सम्बन्धित निकायहरूलाई जानकारी तथा आवश्यक कारबाहीका लागि पठाएको जनाएको छ ।

आर.भी.पि.एल. ल्याब बुटवलका प्रयोगशालाका प्राविधिक सहायक राजीव भण्डारीले दैनिक उपभोग गर्ने फलफुल तथा तरकारीका नमुनामा ‘कार्बामेट’ र ’अर्गानोफोस्फेट’ समूहका कीटनाशकको मात्रा परीक्षण गरिएको बताए । मापदण्ड अनुसार विषादी रोकावट ३५ प्रतिशत भन्दा कम भएमा उपभोग योग्य, ३५ देखि ४५ सम्म भए क्वारेन्टिन र ४५ प्रतिशतभन्दा बढी भए नष्ट गर्नुपर्ने हुन्छ ।

अहिले परीक्षण गरिएका सबै १६ वटै कृषि उपजमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा निकै कम पाइएकाले यी वस्तु बजारमा बिक्री–वितरण र उपभोगका लागि योग्य ठहरिएको उनले बताए । प्रयोगशालाले यो नतिजा केन्द्रीय कृषि प्रयोगशाला ललितपुर र स्थानीय निकायहरूलाई आवश्यक जानकारीका लागि पठाएको छ ।

सिद्धार्थनगर नगरपालिकाका कृषि विकास अधिकृत योगेन्द्र प्रसाद यादवका अनुसार बजारमा विषादीयुक्त कृषि उपजको प्रयोग बढ्दै गएको आशंकाले उपभोक्ताको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै परीक्षण प्रक्रिया अघि बढाइएको बताए । बुटवलको परीक्षण प्रयोगशालाको टोलीलाई आमन्त्रण गरी कान्छी बजार तथा जिल्ला प्रशासन कार्यालय अगाडिको क्षेत्रबाट नमुना संकलन गरिएको उनले बताए ।

नगरपालिकाले आगामी दिनमा पनि बजार अनुगमनलाई निरन्तरता दिँदै प्रयोगशालाको प्रतिवेदनका आधारमा थप रणनीति तय गर्ने जनाएको छ । यदि भविष्यमा कुनै फलफूल वा तरकारीमा मापदण्डभन्दा बढी विषादी फेला परेमा त्यस्ता सामग्री जफत गरी आवश्यक कारबाही गरिने नगरपालिकाले स्पष्ट पारेको छ ।

नमुना संकलनका लागि दुई जना प्राविधिकसहित सिद्धार्थनगर नगरपालिकाको कृषि शाखाका प्रतिनिधि र नगर प्रहरीसमेत गरी पाँच सदस्यीय टोली परिचालन गरिएको थियो ।

टोलीले बजारबाट भिन्डी, आँप, केरा, अंगुर, ड्रागन फ्रुट, धनियाँ, हरियो खुर्सानी, काउली, मेवा, भान्टा, लौका, तरभुजा, घिरौँला, अनार र तितैकरेलाको नमुना सङ्कलन गरी ल्याबमा परीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?