Butwal Today

बालेन सरकारप्रति पोखरेलको कटाक्ष : ‘जान्नेलाई छान्ने’ तरिका गजबको रहेछ

१८ असार २०८३, बिहीबार
अ+
अ-

काठमान्डौँ ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको नियुक्ति प्रक्रिया र कदमप्रति व्यङ्ग्य गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै उनले प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीलाई ‘गजबको तरिका’ भन्दै आलोचना गरेका हुन् ।

प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले बुधबार नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्त गरेपछि पोखरेलको यस्तो प्रतिक्रिया आएको हो ।

पोखरेलले विगतमा बालेन्द्र शाहसँगै स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेका व्यक्तिलाई अध्यादेशमार्फत रिक्त गराइएको राजनीतिक पदमा नियुक्त गरिनुले सरकारको दोहोरो चरित्र उजागर भएको बताएका छन् ।

विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गर्दै आफ्ना निकट व्यक्तिलाई नियुक्त गरिएको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाएका छन् । विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउने सरकारको वास्तविक अनुहार अहिले उदाङ्गिएको उनको आरोप छ ।

काठमाडौँ महानगरपालिकाको मेयर पदका पूर्वउम्मेदवार रहेका पूर्वसचिवलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष बनाइनुले सरकारले आफ्नो वास्तविक चरित्र देखाएको उनको तर्क छ । राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेश ल्याएर पद रिक्त गर्ने र त्यसमा आफ्नै पक्षका व्यक्तिलाई नियुक्त गर्ने कार्यलाई उनले ‘जान्नेलाई छान्ने’ नाराको ‘गजबको रूप’ भन्दै टिप्पणी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?