© 2026
काठमाडौँ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । इन्धनको मूल्यमा उल्लेख्य गिरावट आए पनि विभागले भाडा भने केवल २ प्रतिशतले मात्र घटाएको हो ।
विभागले बिहीबार जारी गरेको सूचनाअनुसार डिजेलको मूल्य प्रतिलिटर ४३ रुपैयाँले घटेको छ । यसअघि डिजेलको औसत बजार मूल्य प्रतिलिटर २३५.८३ रुपैयाँ रहेकोमा हाल १९२.८३ रुपैयाँ कायम भएको छ । यो गिरावट प्रतिशतका आधारमा करिब १८.२३ प्रतिशत हो ।
वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटबढ हुँदा स्वचालित रूपमा भाडा समायोजन गर्नुपर्ने व्यवस्था छ । तर, इन्धनको मूल्य १८ प्रतिशतभन्दा बढीले घट्दा पनि विभागले सबै प्रकारका सवारीसाधनमा २ प्रतिशत मात्र भाडा घटाउने निर्णय गरेको छ ।
किन घट्यो थोरै भाडा ?
विभागका अनुसार यसअघि इन्धनको मूल्य बढ्दा वैज्ञानिक प्रणालीअनुसार ९.८ देखि १४.३ प्रतिशतसम्म भाडा बढ्नुपर्ने अवस्था थियो । तर, तत्कालीन विषम परिस्थितिलाई ध्यानमा राख्दै सरकारले ५ प्रतिशत मात्र भाडा वृद्धि गरेको थियो ।
यसअघि पूर्ण रूपमा बढ्नुपर्ने भाडा नबढेकाले अहिले इन्धनको मूल्यमा ठूलो गिरावट आए पनि हाललाई २ प्रतिशत मात्र भाडा घटाइएको विभागको स्पष्टीकरण छ ।
नयाँ समायोजित भाडादरअनुसार यात्रुवाहक सवारीसाधन, पहाडी मार्गमा सञ्चालन हुने मालवाहक सवारी तथा तराई मार्गका मालवाहक सवारीको भाडा समान रूपमा २ प्रतिशतले घटाइएको छ ।
यो नयाँ भाडादर आजै अर्थात् असार १८ गतेदेखि लागू भएको विभागले जनाएको छ ।
इन्धनको मूल्यमा ठूलो कटौती हुँदा पनि भाडा न्यून मात्रामा मात्र घटाइएपछि उपभोक्ता अधिकारकर्मीहरूले भने यसको विरोध गरेका छन् । उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले वैज्ञानिक भाडा दरको नाममा न्यून मात्र भाडा समायोजन गर्न लागिएको भन्दै यसअघि नै आपत्ति जनाएका थिए ।