© 2026
काठमान्डौँ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहदानी (पासपोर्ट) छपाइ प्रक्रियामा अर्बौँ रुपैयाँको आर्थिक चलखेल हुन लागेको तथा सरकारले संवैधानिक निकायमाथि हस्तक्षेप गरेको आरोप लगाएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै कांग्रेससहित विपक्षी दलहरूले विरोध जनाएका थिए । त्यसपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेस सांसद खडकबहादुर बुढालाई बोल्ने समय दिएका थिए ।
सांसद बुढाले भ्रष्टाचारका सबै प्रकरणमा निष्पक्ष छानबिन हुनुपर्ने र त्यसमा आफ्नै पार्टीका नेता वा मन्त्री संलग्न भए पनि कसैलाई उन्मुक्ति दिन नहुने बताए । उनले राहदानी छपाइ खरिद प्रक्रियामा गम्भीर अनियमितता भएको आरोप लगाउँदै भने, ‘पासपोर्ट छपाइमा जो कोही भए पनि, चाहे हाम्रै पार्टीका नेता वा मन्त्री किन नहुन्, जतिसुकै शक्तिशाली भए पनि कारबाहीको दायरामा आउनुपर्छ । निष्पक्ष र कानुनसम्मत छानबिनमा हाम्रो पूर्ण साथ रहनेछ ।’
सांसद बुढाका अनुसार राहदानी विभागका महानिर्देशकलाई दबाब र धम्की दिई सस्तो मूल्यमा आपूर्ति हुने नयाँ सम्झौता रद्द गराएर पुरानै कम्पनीबाट प्रति पासपोर्ट २ डलर महँगोमा खरिद गर्न खोजिएको छ । सरकारले भेरिएसन अर्डरमार्फत भ्रष्टाचार गर्न खोजेको आरोप लगाउँदै उनले भने, ‘विगतका ‘ओम्नी’ प्रकरणजस्तै अर्को अर्बौँको काण्ड थप्ने प्रयास कदापि स्वीकार्य हुने छैन ।’
सांसद बुढाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा बन्धकजस्तै बनाएर दबाब दिएको आरोपसमेत लगाए । उनले यस घटनाले संवैधानिक निकायको स्वायत्ततामाथि गम्भीर प्रश्न उठाएको बताए । उनले भने, ‘अख्तियार प्रधानमन्त्री देखेर थरथर काँपोस् कि प्रधानमन्त्रीले गलत काम गर्ने सोच्दा अख्तियार सम्झेर डराओस्र ? अख्तियारलाई प्रधानमन्त्री कार्यालयको आदेश पालक संस्था बनाउनु लोकतन्त्रकै उपहास हो ।’
प्रधानमन्त्रीका सल्लाहकारहरूले मन्त्री र संवैधानिक निकायको मर्यादा मिच्दै हुकुम चलाउन खोजेको आरोप लगाउँदै उनले सरकारको कार्यशैलीको आलोचना गरे । सरकार संविधान र कानुनअनुसार नभई आदेश र हुकुमका भरमा चल्न खोजेको उनको आरोप थियो ।
सांसद बुढाले संसद्मा प्रतिपक्षको आवाज बेवास्ता गरिएको तथा सरकार सुशासनका नाममा केवल सस्तो प्रचारबाजीमा केन्द्रित भएको आरोपसमेत लगाए ।