© 2026
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा अवरोध गर्ने पेट्रोलपम्पलाई कडा कारबाही गर्ने व्यवस्था गरेको छ। नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली संशोधन गर्दै इन्धन बिक्री रोक्ने पेट्रोलपम्पलाई १० लाख रुपैयाँसम्म जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गर्ने प्रावधान लागू गरेको हो।
पेट्रोलपम्पका कारण बुधबार देशभर इन्धन बिक्रीवितरण प्रभावित भएपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीको निर्देशनमा निगमले विनियमावली संशोधन गरी नयाँ व्यवस्था गरेको जनाएको छ।संशोधित विनियमावलीअनुसार पेट्रोलपम्पले नोजल सुक्खा ड्राइ बनाएर कृत्रिम रूपमा पेट्रोलियम पदार्थ अभावको अवस्था सिर्जना गर्न नपाउने व्यवस्था गरिएको छ। विक्रेता विनियमावलीको दफा २९(घ)१ मा यससम्बन्धी नयाँ प्रावधान थपिएको छ।
नयाँ व्यवस्थाअनुसार पहिलो पटक यस्तो कसुर गरे तीन लाख रुपैयाँ जरिवाना र पाँच दिनसम्म पेट्रोल तथा डिजेलको आपूर्ति रोक्का गरिनेछ। दोस्रो पटक दोहोरिएमा छ लाख रुपैयाँ जरिवानासहित १० दिनसम्म आपूर्ति बन्द गरिनेछ भने तेस्रो पटक उल्लंघन गरे १० लाख रुपैयाँ जरिवाना र १५ दिनसम्म इन्धन आपूर्ति रोक्का गरिने व्यवस्था गरिएको उद्योगमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ।
सरकारले कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई अनावश्यक सास्ती दिने तथा पेट्रोलियम पदार्थको नियमित आपूर्तिमा बाधा पुर्याउने गतिविधि नियन्त्रण गर्न यो व्यवस्था लागू गरिएको जनाएको छ।