Butwal Today

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला ५० प्रतिशत काम मात्रै सम्पन्न

१८ असार २०८३, बिहीबार
अ+
अ-

चितवन । भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तोकिएको समयभित्र सम्पन्न हुने सम्भावना कमजोर देखिएको छ। निर्माण सम्झौताको अवधि सकिन करिब ६ महिना मात्र बाँकी रहँदा हालसम्म करिब ४८ देखि ५० प्रतिशत काम मात्रै सम्पन्न भएको छ।

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८१ असारमा हिमालयन कालिन्चोक बीबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँ लागतमा ३० महिनाभित्र रंगशाला निर्माण सम्पन्न गर्ने सम्झौता गरेको थियो। सम्झौताअनुसार निर्माण कार्य २०८३ पुस २२ गतेभित्र पूरा गर्नुपर्नेछ।

हालसम्म रंगशालाको एक दर्शक टावर पूर्ण रूपमा निर्माण सम्पन्न भएको छ भने अर्को टावरको दोस्रो तलाको स्ल्याब निर्माण सम्पन्न भएको छ। चारवटा प्यारापिटमध्ये एउटा पूर्ण रूपमा तयार भइसकेको, दुईवटाको स्ल्याब निर्माण सकिएको र अर्को प्यारापिट निर्माणाधीन रहेको जनाइएको छ। रंगशालाको खेल मैदान निर्माणको काम पनि अघि बढेको छ। पाँचवटा क्रिकेट पिच निर्माणको तयारी भइरहेको छ भने पहुँचमार्ग, भूमिगत विद्युत् लाइन, खानेपानी तथा ढल प्रणाली प्लम्बिङ लगायतका पूर्वाधार निर्माण कार्यसमेत जारी रहेको छ।

निर्माणलाई निरन्तरता दिन भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। बाँकी निर्माण कार्य पूरा गर्न संघीय सरकार र बागमती प्रदेश सरकारसँग आवश्यक सहकार्य जारी राखिने महानगरले जनाएको छ। तर चालु आर्थिक वर्षमा संघीय सरकारले यस आयोजनाका लागि कुनै बजेट विनियोजन नगरेकाले निर्माणको गति प्रभावित हुने र तोकिएको समयभित्र रंगशाला सम्पन्न गर्ने लक्ष्य चुनौतीपूर्ण बनेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?