Butwal Today

मनसुनको जोखिम बढेसँगै सरकारको तयारी तीव्र, सुरक्षा निकाय हाई अलर्टमा

१७ असार २०८३, बुधबार
अ+
अ-

काठमान्डौँ ।

देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । बुधबार र बिहीबार मौसम थप प्रतिकूल रहने पूर्वानुमानपछि सरकारले विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ ।

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुन थप सशक्त बनेपछि देशभरका जोखिमयुक्त क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सशस्त्र प्रहरी बल (एपीएफ) ले विपद्का बेला तत्काल उद्धार टोली परिचालन गर्न सहज होस् भन्ने उद्देश्यले देशभर ५४ स्थानमा अस्थायी मनसुन प्रतिकार्य बेस स्थापना गरेको छ । एपीएफका प्रवक्ता नेत्रबहादुर कार्कीका अनुसार १६ वटा अति जोखिमयुक्त स्थानमा जनशक्ति र आवश्यक स्रोतसाधनसहितका स्थायी बेससमेत तयारी अवस्थामा रहेका छन् ।

विपद्सम्बन्धी सूचना संकलनका लागि सशस्त्र प्रहरीले ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप र १११४ हटलाइन सेवा सञ्चालनमा ल्याएको छ । प्रवक्ता कार्कीले भने, “नागरिकले एपमार्फत सूचना दिनासाथ नजिकको बाहिनीमा जानकारी पुग्छ र उद्धार टोली तत्काल घटनास्थलमा खटिन्छ। हामी चौबिसै घण्टा तयारी अवस्थामा छौँ ।”

प्रतिनिधिसभाको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले विपद् व्यवस्थापनका लागि जनशक्ति र प्रविधिको व्यवस्था विगतको तुलनामा सुधारिएको भए पनि नेपालको भौगोलिक अवस्थाका कारण केही चुनौती अझै बाँकी रहेको बताए । छरिएर रहेका पहाडी बस्ती र खोला किनारमा रहेका तराईका बस्तीमा राज्यको प्रभावकारी पहुँच पुर्‍याउन अझै थप प्रयास आवश्यक रहेको उनको भनाइ छ ।

उनले भने, “स्थानीय तह विपद् व्यवस्थापनको अग्रपङ्क्तिमा रहेकाले उनीहरूलाई थप स्रोतसाधनयुक्त बनाउनु आवश्यक छ । विशेषगरी राजमार्ग क्षेत्रमा रहेका ‘ब्ल्याक स्पट’ पहिचान गरी सुधार गर्न र पूर्वसूचना प्रणालीलाई कडाइका साथ कार्यान्वयन गर्न हामीले ध्यान दिनुपर्छ ।”

नेपाली सेनाले पनि बाढी–पहिरोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि तीन चरणको पूर्वतयारी योजना कार्यान्वयनमा ल्याएको छ । सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार पहिलो चरणमा योजना अद्यावधिक र संयुक्त अभ्यास, दोस्रो चरणमा स्रोतसाधनसहितको पूर्वतैनाथी तथा तेस्रो चरणमा प्रतिकार्य र पृष्ठपोषणलाई प्राथमिकता दिइएको छ ।

उनका अनुसार हवाई उद्धारका लागि इटहरी, सुर्खेत र काठमाडौंमा हेलिकप्टर तयारी अवस्थामा राखिएका छन् । त्यस्तै, पूर्वाधार पुनःस्थापनाका लागि धादिङ, चितवन र बारामा बेली ब्रिज स्ट्यान्डबाइ अवस्थामा राखिएको छ ।

स्वास्थ्य सेवाका लागि आपत्कालीन मेडिकल किटसहितका फिल्ड अस्पतालहरू पनि तयारी अवस्थामा रहेको बस्नेतले जानकारी दिए ।

सेनाले विपद्का घटनाबारे तत्काल जानकारी गराउन स्थानीय विपद् व्यवस्थापन समिति वा सेनाको जनसम्पर्क निर्देशनालयमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ । साथै, सरकारले जारी गर्ने मौसम पूर्वानुमान नियमित रूपमा पछ्याउन र उच्च सतर्कता अपनाउन पनि अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?