© 2026
बुटवल । जिल्ला कारागार कपिलवस्तुमा कैदी बन्दीमाथि भएको कुटपिटको घटनापछि दुई दिनदेखि तनावपूर्ण अवस्था सिर्जना भएको छ । कारागारको २ नम्बर ब्लकमा चौकीदार र मूल नाइकेको समूहले चार जना कैदी बन्दीलाई कुटपिट गरेको आरोप लागेपछि अन्य कैदी बन्दी आन्दोलनमा उत्रिएका हुन् ।
प्रहरीका अनुसार शनिबार कारागारका चौकीदार दामोदर थारु र मूल नाइकेको समूहले चार जना कैदी बन्दीलाई बोरामा हालेर निर्घात कुटपिट गरेको आरोप लागेको छ । कुटपिटमा मोहम्मदहनिफ मुसलमान, सुजन विक, निरज कार्की र हबिबुर रहमान घाइते भएका छन् ।
घटनापछि कारागार प्रशासनले दोषीमाथि तत्काल कुनै कारबाही नगरेको भन्दै अन्य कैदी बन्दी आक्रोशित बनेका थिए । विरोध स्वरूप उनीहरूले कारागारको २ नम्बर ब्लकका मूल नाइके केयरसिंह खत्री, सहनाइके विजय खत्री र अर्जुन थारुलाई नियन्त्रणमा लिएर केही समय एउटै ब्लकमा राखेका थिए ।
आन्दोलनरत कैदी बन्दी नारायण वलीका अनुसार कुटपिटमा संलग्नमाथि कारबाहीको माग गर्दै सोमबार दिउँसोदेखि ती तीन जनालाई नियन्त्रणमा राखिएको थियो ।
घटनाले कारागारभित्र तनाव बढेपछि सुरक्षा अवस्था थप संवेदनशील बनेको थियो । तनाव बढेपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले कारागार बाहिर सुरक्षा व्यवस्था कडा बनाएको थियो । यद्यपि कारागारभित्रको सुरक्षा व्यवस्थाका कारण प्रहरी प्रत्यक्ष रूपमा ब्लकभित्र प्रवेश गर्न सकेन ।
समस्या समाधानका लागि प्रहरी, कारागार प्रशासन र कैदी बन्दीबिच बाहिर–भित्रबाट संवाद तथा छलफल गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहले जानकारी दिए ।
आन्दोलनरत कैदी बन्दीको मागअनुसार नेपाल पत्रकार महासङ्घ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको रोहबरमा सोमबार राति मूल नाइकेलाई अर्को ब्लकमा सारिएको प्रहरीले जनाएको छ । त्यसपछि कारागारभित्रको अवस्था क्रमशः सामान्य बन्दै गएको बताइएको छ ।
प्रारम्भिक जानकारीअनुसार शनिबार भएको कुटपिटको घटनापछि आइतबारदेखि नै २ नम्बर ब्लकमा कैदी बन्दीबिच विवाद चर्किएको थियो । घटनाको वास्तविक कारण र कुटपिटमा संलग्न व्यक्तिको भूमिकाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला कारागार कपिलवस्तुमा दुई वटा ब्लकमा गरी करिब ४ सय कैदी बन्दी रहेका छन् । कारागारभित्र हुने कुटपिट, झडप तथा अनुशासनसम्बन्धी घटनाले बेला–बेलामा सुरक्षा व्यवस्थामाथि प्रश्न उठ्ने गरेको छ । पछिल्लो घटनाले पनि कारागारभित्रको व्यवस्थापन, कैदी बन्दीको सुरक्षा तथा आन्तरिक अनुशासन प्रणालीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।
यसैबिच, कपिलवस्तु कारागारका कैदी बन्दीले उठाएका विभिन्न मागको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको छ।
कारागारको ब्लक नम्बर २ का कैदी बन्दीले सोमबार नाइकेहरूले ज्यादती गरेको, खानाको गुणस्तर कमजोर रहेको तथा आर्थिक र शारीरिक शोषण भएको आरोप लगाउँदै १८ बुँदे माग पत्र पेस गरेका थिए । उनीहरूले खानाको गुणस्तर सुधार, आर्थिक शोषण अन्त्य तथा विभिन्न सेवा–सुविधा सुनिश्चित गर्न माग गरेका छन् ।
मंगलबार गठन गरिएको समितिमा संयोजक घिमिरेसहित जिल्ला प्रशासन कार्यालयका एक अधिकृत, सशस्त्र प्रहरी बलका एक प्रहरी नायव उपरीक्षक (डीएसपी) र नेपाल प्रहरीका एक प्रहरी निरीक्षक सदस्य रहेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार समितिले कैदी बन्दीले उठाएका विषयमा सम्बन्धित सबै पक्षसँग सोधपुछ तथा आवश्यक अध्ययन गरी यथाशीघ्र प्रतिवेदन पेस गर्नेछ । प्रतिवेदन बुझाउने निश्चित समय सीमा भने तोकिएको छैन ।
कारागारका जेलर मानबहादुर शाहीका अनुसार समिति गठन भएसँगै ब्लक नम्बर २ का कैदी बन्दीले मुख्य ढोका खोलेर आन्दोलन स्थगित गरेका छन् । विवादमा जोडिएका मूल नाइके, नाइकेसहित पाँच जनालाई ब्लक नम्बर २ बाट अन्य ब्लकमा सारिएको उनले जानकारी दिए ।