© 2026
बुटवल । लुम्बिनी प्रदेशमा चालकको लापरबाहीका कारण हुने सडक दुर्घटना अझै पनि प्रमुख चुनौतीका रूपमा देखिएको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय, बुटवलले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले तीव्र गति, मादक पदार्थ सेवन, लेन अनुशासनको उल्लङ्घन, गलत स्थानबाट ओभरटेक तथा चालकको असावधानीका कारण अधिकांश दुर्घटना हुने गरेको देखाएको हो ।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक निशान थापाका अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामा गत वैशाख र जेठ महिनामा मात्रै ३३९ वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ११३ जनाको मृत्यु भएको छ भने ६४१ जना घाइते भएका छन् ।
तथ्याङ्कअनुसार वैशाख महिनामा १८९ वटा सवारी दुर्घटना हुँदा ७३ जनाले ज्यान गुमाएका थिए भने ३८६ जना घाइते भएका थिए । त्यस्तै जेठ महिनामा १५० वटा दुर्घटनामा ४० जनाको मृत्यु भएको र २५५ जना घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
प्रहरी उपरीक्षक थापाले सडक दुर्घटनाको मुख्य कारण चालकको लापरबाही नै रहेको बताए । उनका अनुसार तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति सबैभन्दा ठुलो जोखिमका रूपमा देखिएको छ ।
जेठ महिनाको विश्लेषणअनुसार तीव्र गतिका कारण मात्रै ९९ वटा दुर्घटना भएका छन् । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउँदा १७ वटा दुर्घटना भएका छन् भने चालकलाई निद्रा लाग्नु वा अत्यधिक थकानका कारण एक, मोबाइल फोन प्रयोग गर्दै सवारी चलाउँदा एक, गलत स्थानबाट ओभरटेक गर्दा दुई, लेन अनुशासन पालना नगर्दा एक तथा चालकको सीप र क्षमता अभावका कारण १८ वटा दुर्घटना भएका छन् । अन्य लापरबाहीका कारण तीन वटा दुर्घटना भएको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने चालकमाथि पनि प्रहरीले कारबाहीलाई तीव्र बनाएको छ । वैशाख महिनामा ट्राफिक नियम विपरीत सवारी सञ्चालन गर्ने १० हजार ९११ चालकलाई कारबाही गरी एक करोड ६५ लाख ७६ हजार ५०१ रुपैयाँ राजस्व सङ्कलन गरिएको थियो ।
त्यस्तै जेठ महिनामा १२ हजार ८०५ चालक कारबाहीमा परेका छन् । उनीहरूबाट एक करोड ४८ लाख ३१ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरी कार्यालयले जनाएको छ ।
मापसे गरेर सवारी चलाउने प्रवृत्ति पनि चिन्ताजनक देखिएको छ । जेठ महिनामा मात्रै मादक पदार्थ सेवन गरी सवारी चलाउने एक हजार ११३ चालक कारबाहीमा परेका छन् । त्यस्तै लागु औषध सेवन गरेर सवारी चलाउने नौ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ । अत्यधिक गतिमा सवारी चलाउने सात जना चालकसमेत कानुनी कारबाहीमा परेका छन् ।
सवारी साधनको प्राविधिक अवस्था र सार्वजनिक यातायातको व्यवस्थापनमा समेत ट्राफिक प्रहरीले निगरानी बढाएको छ । जेठ महिनामा क्षमताभन्दा बढी सिट राखेर सञ्चालन गरिएका १३५ वटा सार्वजनिक सवारी साधनबाट अतिरिक्त सिट हटाइएको छ ।
८० वटा सवारी साधनमा भार (लोड) मिलान गरिएको छ भने २७५ वटा यात्रुवाहक सवारी साधनमा यात्रु सुरक्षा तथा कागजात परीक्षण गरिएको छ । यसै गरी १५ वटा सार्वजनिक सवारी साधनमा अनिवार्य रूपमा टाँस्नुपर्ने भाडा दर सूची टाँसिएको सुनिश्चित गरिएको छ । १८३ जना चालकको स्वास्थ्य परीक्षण गरिएको छ भने नियम विपरीत जडान गरिएका पाँच वटा हिटरसमेत हटाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
सडक दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिइएको प्रहरीले जनाएको छ । पछिल्लो समय विद्यालय, कलेज, क्लब, विभिन्न सङ्घसंस्था तथा सार्वजनिक यातायातका चालक र सहचालकलाई लक्षित गरी व्यापक ट्राफिक सचेतना अभियान सञ्चालन भइरहेको छ ।
प्रहरीका अनुसार जेठ महिनामा मात्रै तीन हजारभन्दा बढी विद्यार्थी, चालक, यातायात व्यवसायी तथा सर्वसाधारणलाई ट्राफिक नियम, सुरक्षित सवारी सञ्चालन र सडक सुरक्षाबारे प्रशिक्षण तथा अभिमुखीकरण गरिएको छ ।
प्रहरी उपरीक्षक थापाले सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको प्रयास मात्र पर्याप्त नहुने बताउँदै चालक, यात्रु, यातायात व्यवसायी र सम्बन्धित निकाय सबैको समान जिम्मेवारी आवश्यक रहेको उल्लेख गरे ।
उनले गति नियन्त्रण, मापसे नगर्ने, पर्याप्त विश्रामपछि मात्र लामो दूरीको यात्रा गर्ने, मोबाइल फोन प्रयोग नगरी सवारी चलाउने तथा ट्राफिक नियमको पूर्ण पालना गर्ने बानीले अधिकांश दुर्घटना रोक्न सकिने बताए ।