Butwal Today

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा ५ मुद्दाका सक्कल मिसिल झिकाउने आदेश

१६ असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमाथि सुनुवाइ गर्दै विभिन्न अदालतमा विचाराधीन तथा फैसला भइसकेका पाँच वटा मुद्दाका सक्कल मिसिल अध्ययनका लागि झिकाउन आदेश दिएको छ ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले सोमबार उक्त आदेश जारी गरेको हो । अदालतले विशेष अदालतमा विचाराधीन नेपाल सरकार वादी तथा दीपक भट्टसमेत प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको फाइल झिकाउन आदेश दिएको छ ।

त्यस्तै, उच्च अदालत पाटनमा विचाराधीन दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दाको फाइल पनि मगाउन भनिएको छ ।

यस्तै, काठमाडौँ जिल्ला अदालतमा विचाराधीन आशिष श्रेष्ठसमेत प्रतिवादी रहेको बिमा कसुरसम्बन्धी मुद्दा तथा सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेका धितोपत्र (सेयर) सम्बन्धी दुई छुट्टाछुट्टै मुद्दाका सक्कल मिसिल पनि झिकाउन आदेश भएको छ ।

यसअघि दीपक भट्टले गृह मन्त्रालयविरुद्ध दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको किनारा लागेको मिसिल पनि सर्वोच्च अदालतको अभिलेख शाखाबाट झिकाउन आदेश दिइएको छ ।

अदालतले ती सबै मिसिलहरू असार १८ गतेको पेशीका लागि उपलब्ध गराउन निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?