Butwal Today

देशमा गरिएको वितण्डाविरूद्ध संयुक्त सङ्घर्षमा जानुपर्छ : केपी ओली

१६ असार २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्त शक्तिबीच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्ने बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित नेकपा ९एमाले० राजधानी प्रदेशस्तरीय निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन परामर्श कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अपहरित लोकतन्त्र पुनःस्थापना गर्न संयुक्त सङ्घर्ष आवश्यक रहेको बताएका हुन् ।

‘देशमा भइरहेको वितण्डाविरुद्ध रहेका सबै लोकतन्त्रवादी, वामपन्थी र देशभक्तहरूबीच कार्यगत एकता गरी संयुक्त सङ्घर्षमा जानुपर्छ,’ अध्यक्ष ओलीले भने ।

उनले अहिले पार्टी एकताको सम्भावना नरहेको भन्दै त्यससम्बन्धी भ्रममा नपर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । ‘हामी समूहगत वा संस्थागत एकता गर्दैनौँ । तर पार्टीमा प्रवेश गर्न चाहने व्यक्ति वा समूहलाई उदारतापूर्वक स्वागत गर्दै समेट्ने काम गर्छौँ,’ उनले भने ।

अध्यक्ष ओलीले पार्टी एकतामा पवित्रता आवश्यक हुने उल्लेख गर्दै विगतका एकतामा त्यस्तो भावना नदेखिएको बताए । ‘एकताका नाममा स्वार्थ, गठजोड र दाउपेच मात्रै देखियो,’ उनले भने ।

उनले गत फागुन २१ गते सम्पन्न निर्वाचन र त्यसपछि २०८२ भदौ २३ र २४ गते भएका घटनालाई जोड्दै ती अपराधलाई वैधानिकता दिन नाटक मञ्चन गरिएको आरोप लगाए । गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा भदौ २३ गते गोली कसले चलायो तथा दुई दिनसम्म सुरक्षा संयन्त्र किन निस्क्रिय भयो भन्ने विषय उल्लेख नगरिएकाले ती घटनालाई ढाकछोप गर्न आयोग गठन गरिएको दाबी गरे ।

गत भदौमा भएका घटनालाई संविधान, लोकतन्त्र र मुलुकविरुद्धको आक्रमण तथा षड्यन्त्रको संज्ञा दिँदै उनले त्यसलाई युवा विद्रोह वा आन्दोलनका रूपमा बुझ्ने भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे ।

पार्टी पुनर्गठनका सन्दर्भमा अध्यक्ष ओलीले निष्क्रिय रहेका पार्टी कमिटीलाई सक्रिय बनाउन आवश्यक पुनर्गठन गर्न सकिने बताए । उनले पार्टीभित्र एकता, थप एकता र अझ बलियो एकताको आवश्यकता रहेकोमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?