Butwal Today

चिया निकासीमा भारतीय अवरोध हट्यो

१६ असार २०८३, मंगलवार
अ+
अ-

काठमान्डौँ ।

गुणस्तर परीक्षणको कडा मापदण्डका कारण झन्डै दुई महिनादेखि रोकिएको नेपाली चियाको भारत निर्यात पुनः सुरु भएको छ । नेपाल सरकारको निरन्तर कूटनीतिक पहलपछि भारतीय खाद्य सुरक्षा तथा मापदण्ड प्राधिकरण (एफएसएसएआई) ले परीक्षण प्रणाली खुकुलो बनाएसँगै काँकडभिट्टा नाका हुँदै चियाका गाडीहरू भारततर्फ जान थालेका हुन् ।

निकासी अवरुद्ध हुँदा इलामका चिया उद्योगहरूमा मात्रै करिब १२ लाख किलो अर्थोडक्स चिया थन्किएको थियो । अब निकासी खुलेसँगै ती चिया भारतीय बजारमा सहज रूपमा पुग्ने अपेक्षा व्यवसायीहरूको छ ।

नेपाल चिया उत्पादक संघका अनुसार सोमबार इलाममा उत्पादित अर्थोडक्स चिया बोकेका दुई ट्रक काँकडभिट्टा हुँदै भारतको पानीट्यांकी भन्सार प्रवेश गरेका छन् । लामो समयको अन्योल हटेसँगै व्यवसायीहरूले नयाँ खेप पनि पठाउन थालेका छन् ।

तारागाउँ टी स्टेट र सिद्धेश्वर टी स्टेटका सञ्चालक तथा नेपाल चिया उत्पादक संघका पूर्वअध्यक्ष उत्तम श्रेष्ठले सरकार र भारतीय पक्षबाट आएको सकारात्मक संकेतपछि निकासी पुनः सुरु गरिएको बताए ।

‘चियाको विषयमा पटक–पटक सरकारसँग छलफल गरेका थियौं । त्यसपछि अब अवरोध नहुने सन्देश आयो,’ उनले भने, ‘त्यही आधारमा मंगलबार पहिलो लट ९ हजार किलो ९एक कन्टेनर० चिया लोड गरेका छौं ।’

नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले प्रधानमन्त्री कार्यालयको प्रत्यक्ष पहलपछि नाका सहज बनेको बताए । प्रधानमन्त्री कार्यालयले हाम्रो कुरा सुन्यो र आवश्यक पहल गर्‍यो । अहिले चियाको निर्यात सहज रूपमा अघि बढिरहेको छ,’ उनले भने ।

चिया निकासीमा देखिएका समस्या अध्ययन गरी तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपाय सुझाउन प्रधानमन्त्री सचिवालयले असारको पहिलो साता अन्तर–निकाय समिति गठन गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव सदस्य–सचिव रहेको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, परराष्ट्र, कृषि, वन तथा वातावरण मन्त्रालय, भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय चिया तथा कफी विकास बोर्डलगायतका प्रतिनिधि सदस्य रहेका छन् ।

सरकारले चिया निकासीको दीर्घकालीन समाधान खोज्न गठन गरेको विशेष कार्यदलले पनि काम गरिरहेको गुप्ताले जानकारी दिए ।

यद्यपि, भारतले कुनै सर्तबिनै निकासी पूर्ण रूपमा खुला गरेको भने छैन । भारतीय पक्षले ‘र्‍यान्डम इन्टरसेप्सन’ अर्थात् नमुना छनोट गरी परीक्षण गर्ने व्यवस्था लागू गर्दै निकासीलाई सहज बनाएको हो ।

एफएसएसएआईले जुन २३ मा जारी गरेको नयाँ परिपत्रअनुसार अब नेपालबाट भारत जाने चियाका प्रत्येक पाँच खेपमध्ये एउटा खेपको मात्र नमुना परीक्षण हुनेछ । यसअघि १८ वैशाखदेखि प्रत्येक खेपको अनिवार्य नमुना परीक्षण गर्नुपर्ने व्यवस्था लागू गरिएपछि नेपाली चियाको निकासी ठप्प बनेको थियो ।

त्यसको प्रत्यक्ष असर पहाडका ५६ र तराईका ३० चिया उद्योगमा परेको थियो । उद्योगहरू बन्द हुने अवस्था सिर्जना हुनुका साथै किसान र व्यवसायी दुवै गम्भीर आर्थिक मारमा परेका थिए । त्यसपछि नेपाल सरकारले कूटनीतिक माध्यमबाट भारतसँग निरन्तर पहल गरेको थियो ।

यद्यपि, पानीट्यांकी भन्सारमा प्रयोगशाला नहुँदा चियाको नमुना परीक्षणका लागि अझै पनि कोलकाता पठाउनुपर्ने बाध्यता कायमै छ । विगतमा भारतीय भन्सारले लामो समयसम्म खेप रोकेका अनुभवका कारण व्यवसायीहरू पूर्ण रूपमा ढुक्क भने भइसकेका छैनन् ।

मेची भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवलाल न्यौपानेका अनुसार सोमबार दुई गाडी चिया नेपाली भन्सार पार गरेर भारततर्फ गएको छ । तर भारतीय भन्सारबाट ती खेप अन्तिम रूपमा जाँचपास भएर अघि बढे वा रोकिए भन्ने आधिकारिक जानकारी नेपाली पक्षलाई प्राप्त भएको छैन ।

उनका अनुसार मंगलबार दिउँसोसम्म नयाँ चिया निर्यातका लागि कुनै पनि व्यवसायी भन्सार घोषणा गर्न आएका थिएनन् । यद्यपि कार्यालय समय बाँकी रहेकाले थप खेप आउन सक्ने सम्भावना रहेको उनले बताए ।

निकासी पुनः सुरु भएसँगै भारतीय बजारबाट नयाँ अर्डर आउन थालेको व्यवसायीहरूको भनाइ छ ।

‘वातावरण सहज भएपछि भारतीय आयातकर्ताले चासो बढाएका छन् । उनीहरूले चियाको नमुना पठाउन आग्रह गरिरहेका छन्,’ गुप्ताले भने ।

हाल पहाडी क्षेत्रमा उत्पादित अर्थोडक्स चिया मात्र भारत निर्यात हुन थालेको छ । तराईमा उत्पादित सिटिसी चियाको कारोबारसम्बन्धी सम्झौता भने अझै हुन बाँकी छ ।

व्यवसायीहरूका अनुसार नेपाली चियाको दीर्घकालीन निर्यात सहजता अब भारतीय चिया बोर्डले आगामी दिनमा अपनाउने नीतिमा निर्भर रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?