© 2026
बुटवल । ‘धान उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ भव्यताका साथ राष्ट्रिय धान दिवस मनाइरहँदा देशकै प्रमुख अन्न भण्डार मानिने लुम्बिनी प्रदेशका खेतहरू भने अझै पनि सुक्खा र बाँझै छन् ।
आकाशमा बादल मडारिए पनि पर्याप्त पानी नपर्दा र राज्यले भरपर्दो सिँचाइको व्यवस्था गर्न नसक्दा असार १५ सम्म आइपुग्दा लुम्बिनी प्रदेशमा जम्मा २०.८ प्रतिशत क्षेत्रफलमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ ।
धान उत्पादनका लागि निकै उर्वर मानिने यस क्षेत्रका झन्डै ८० प्रतिशत खेतहरू असारको मध्यसम्म पनि धमिरा लाग्ने गरी सुकेका छन्, जसले गर्दा यस वर्ष धान उत्पादनमा निकै ठुलो गिरावट आउने सङ्केत देखिएको छ ।
नेपाली किसानका लागि असार १५ केवल एउटा दिवस मात्र होइन, वर्ष भरी खाने अन्न उब्जाउने मुख्य उत्सव हो । तर, लुम्बिनीका आम किसानका लागि भने यो समय उत्सव भन्दा बढी मानसिक तनावको कारक बनेको छ ।
किसानहरूलाई सधैँ झैँ यस वर्ष पनि मल, बीउ र सिँचाइकै पुरानो चिन्ताले सताएको छ । मानो रोपेर मुरी उब्जाउने यो महत्त्वपूर्ण समयमा सरकारी अनुदानको रासायनिक मल पाउनु भाग्यको खेल जस्तै भएको छ । सीमावर्ती क्षेत्रका बासिन्दाले भारतीय बजारबाट सुरक्षाकर्मी र भन्सारको आँखा छलेर, ज्यान जोखिममा राख्दै चोरी पैठारी गरेर मल ल्याउनुपर्ने बाध्यता छ ।
सीमा क्षेत्रका किसानले जेनतेन यस्तो हत्कण्डा अपनाएर गर्जो टारे पनि, सीमाभन्दा टाढा रहेका भित्री मधेस र पहाडी क्षेत्रका किसानहरूका लागि भने मल पाउनु फलामको चिउरा चपाउनु सरह बनेको छ । मलको हाहाकार र आकाशे पानीको अभावले किसानलाई नराम्रोसँग पिरोलेको छ ।
लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालयको पछिल्लो तथ्याङ्क हेर्ने हो भने यस वर्षको चित्र निकै निराशाजनक छ । प्रदेशभर कुल ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । जसमध्ये असारको मध्यसम्म ६२ हजार ६ सय ७० हेक्टर क्षेत्रफलमा मात्रै धान रोपाइँ सकिएको छ ।
तराईका जिल्लाहरूमा सिँचाइको भरपर्दो पूर्वाधार नहुँदा अधिकांश खेती आकाशे पानीकै भरमा चल्ने गरेको छ । पानी नपर्दा ब्याडमा राखेको धानको बीउ पुरानो भएर पहेँलो भई सुक्न थालिसकेको छ । बीउ छिप्पिँदै जाँदासमेत किसानले खेतमा ट्याक्टर वा हल गोरु जोत्न पाएका छैनन् । तराईका फराकिला फाँटहरू पानीको अभावमा धाँजा फाटेका देखिन्छन् ।
निर्देशनालयको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा दयनीय अवस्था बाँकेको छ । बाँकेमा कुल ३३ हजार ८ सय ७० हेक्टरमा धान खेती हुने गरेकोमा अहिलेसम्म मात्र १ सय ६८ दशमलव ९ हेक्टर अर्थात् शून्य दशमलव ५ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ । यो तथ्याङ्कले बाँकेमा धान खेतीको अवस्था कति सङ्कटपूर्ण छ भन्ने स्पष्ट पार्छ ।
त्यस्तै, तराईकै अर्को ठुलो जिल्ला कपिलवस्तुको अवस्था पनि उस्तै छ । ६६ हजार २ सय २५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने कपिलवस्तुमा अहिलेसम्म किसानले मात्र १ दशमलव ५८ प्रतिशत अर्थात् १ हजार ५० हेक्टरमा मात्र धान रोप्न सकेका छन् । बाँकी विशाल क्षेत्रफल पानीकै अभावले मरुभूमि जस्तै बाँझो देखिएको छ ।
धान उत्पादनमा अग्रणी मानिने दाङ जिल्लामा ३६ हजार २ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकोमा हालसम्म जम्मा १५ प्रतिशत मात्रै रोपाइँ भएको छ । ५० हजार १ सय ५० हेक्टर धान खेतीको क्षेत्रफल रहेको बर्दियामा पनि अवस्था खासै उत्साहजनक छैन, जहाँ १९ दशमलव ३१ प्रतिशत मात्र रोपाइँ सकिएको छ ।
रुपन्देही जिल्लामा भने अन्य छिमेकी जिल्लाको तुलनामा केही बढी रोपाइँ भएको देखिएको छ । ६३ हजार ५ सय ५० हेक्टर क्षेत्रमा धान उत्पादन हुने रुपन्देहीमा २७ हजार ३ सय २६ हेक्टर क्षेत्रफल अर्थात् ४३ प्रतिशत जमिनमा किसानले धान रोपेका छन् । तराईका जिल्लाहरूमध्ये सबैभन्दा अगाडि पश्चिम नवलपरासी देखिएको छ ।
निर्देशनालयका कृषि प्रसार अधिकृत नवीन गैरेका अनुसार नवलपरासी पश्चिममा २० हजार ८ सय ८७ हेक्टर क्षेत्रफल जमिनमा धान खेती हुँदै आएकोमा अहिलेसम्म १० हजार ४ सय ४३ हेक्टर अर्थात् बराबर ५० प्रतिशत खेतमा रोपाइँ सकिएको छ ।
तराईको तुलनामा प्रदेशका पहाडी जिल्लाहरूको अवस्था मिश्रित रहेको छ । सिँचाइको सुविधा पुगेका केही क्षेत्रमा रोपाइँ उत्साहजनक रूपमा सकिएको छ भने भौगोलिक विकटता र कुलोको पहुँच नभएका ठाउँमा अवस्था अझै कमजोर छ ।
पहाडी जिल्लाहरूमध्ये प्युठानमा भने निकै राम्रो रोपाइँ भएको छ । कृषि प्रसार अधिकृत गैरेका अनुसार प्युठानको अधिकांश खेतीयोग्य जमिनमा नदी तथा खोलाहरूबाट सिँचाइ सुविधा पुगेकाले आकाशे पानीको भर पर्नु परेको छैन । ६ हजार ५ सय २५ हेक्टर धान खेतीको क्षेत्रफल रहेको प्युठानमा अहिलेसम्म ५ हजार ७ सय ४२ हेक्टर अर्थात् ८८ प्रतिशत क्षेत्रमा रोपाइँ सकिइसकेको छ, जुन सिँचाइ उपलब्धताको सकारात्मक उदाहरण हो ।
प्युठान बाहेकका अन्य पहाडी जिल्लामा भने सिँचाइकै अभावले रोपाइँको गति सुस्त छ । कुल ६ हजार ७ सय ६० हेक्टर क्षेत्रफलमा धान खेती हुने अर्घाखाँचीमा ११ दशमलव २ प्रतिशत, ३ हजार ७३ हेक्टरमा धान खेती हुने रोल्पामा ४० प्रतिशत र जम्मा ३ सय ६४ हेक्टरमा धान खेती हुने रुकुम पूर्वमा २५ प्रतिशत खेतमा रोपाइँ सकिएको छ ।
त्यस्तै, ६ हजार ५ सय ४१ हेक्टर धान खेतीको जमिन रहेको गुल्मीमा अहिलेसम्म ७ प्रतिशत मात्रै रोपाइँ भएको छ । पहाडी जिल्लाहरूमध्ये सबैभन्दा कम रोपाइँ पाल्पामा भएको छ, जहाँ ७ हजार २ सय ८७ हेक्टर धान खेती हुने भए पनि हालसम्म मात्र २ सय ९१ हेक्टर अर्थात् ४ प्रतिशत जमिनमा मात्रै रोपाइँ हुन सकेको तथ्याङ्क छ ।
समयमै मनसुन सक्रिय नहुनु र हिउँददेखि नै खडेरी पर्नु त प्राकृतिक कारण भए पनि, राज्यले किसानका लागि दीर्घकालीन सिँचाइ आयोजनाहरू निर्माण गर्न नसक्नु प्रमुख नीतिगत कमजोरी हो । प्रत्येक वर्ष असार १५ का दिन सरकारी ओहोदाका उच्च अधिकारीहरू र मन्त्रीहरू खेतमा पुगेर हिलो छ्यापाछ्याप गर्ने, दहीच्युरा खाने र आमसञ्चार माध्यममा तस्बिर खिचाउने तामझामपूर्ण परिपाटी त देखिन्छ, तर तिनै अधिकारीहरू वास्तविक किसानको मर्म र खेतको सुक्खापनप्रति कहिल्यै गम्भीर बन्दैनन् ।
असारको आधा समय बितिसक्दा पनि २० प्रतिशत मात्रै रोपाइँ हुनुले आगामी हिउँदमा खाद्य सुरक्षामा ठुलो चुनौती थपिने देखिएको छ । सरकारले कृषिप्रधान देशको नारा लगाइरहँदा, लुम्बिनीका किसान भने भत्किएका कुलो, सुकेका ब्याड र रित्ता मलका बोरा हेरेर बिलौना गरिरहेका छन् ।