© 2026
वीरगन्ज । देशको प्रमुख पेट्रोलियम आयात नाका वीरगन्जबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २ खर्ब ९ अर्ब ९३ करोड रुपैयाँ बराबरको इन्धन आयात भएको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ३५ अर्ब ५३ करोड रुपैयाँ अर्थात् झन्डै २० प्रतिशतले बढी हो। वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार डिजेल, पेट्रोल, एलपीजी ग्यास, हवाई इन्धन एटीएफ र मट्टितेल आयातबाट सरकारले ७३ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने ७३ अर्ब २१ करोड रुपैयाँ राजस्व उठेको थियो।
तथ्यांकले सबैभन्दा बढी आयात हुने डिजेलको परिमाण घटेको देखाएको छ। चालु आर्थिक वर्षमा ९ लाख ८५ हजार २०२ किलोलिटर डिजेल आयात भएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा १० लाख ३३ हजार ८१३ किलोलिटर आयात भएको थियो। परिमाण घटे पनि अन्तर्राष्ट्रिय मूल्य बढेका कारण डिजेल आयातमा खर्च भएको रकम भने उल्लेखनीय रूपमा वृद्धि भएको छ।
यता पेट्रोलको आयात भने परिमाण, मूल्य र राजस्व तीनै सूचकमा बढेको छ। त्यसैगरी हवाई इन्धन एटीएफको आयातमा पनि उल्लेखनीय वृद्धि भएको छ, जसले समग्र इन्धन आयात खर्च बढाउन महत्वपूर्ण भूमिका खेलेको भन्सार तथ्यांकले देखाएको छ। तर एलपीजी ग्यास र मट्टितेलको आयात भने परिमाण र मूल्य दुवै हिसाबले घटेको छ।
समग्रमा डिजेल, एलपीजी ग्यास र मट्टितेलको आयात घटे पनि पेट्रोल र हवाई इन्धनको बढ्दो माग, अन्तर्राष्ट्रिय बजारमा मूल्यको प्रभाव तथा कर संरचनामा आएको परिवर्तनका कारण चालु आर्थिक वर्षमा इन्धन आयात खर्च र सरकारी राजस्व दुवै बढेको तथ्यांकले देखाएको छ।