Butwal Today

रास्वपाको केन्द्रीय समितिमा महिलाको बहुमत

१६ असार २०८३, मंगलवार
अ+
अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आफ्नो पहिलो महाधिवेशनमार्फत नेपाली राजनीतिक इतिहासमा नयाँ रेकड कायम गरेको छ। चितवनमा असार ७ देखि १२ गतेसम्म सम्पन्न महाधिवेशनबाट निर्वाचित ९९ सदस्यीय केन्द्रीय समितिमा ५० जना महिला निर्वाचित भएका छन्, जुन करिब ५१ प्रतिशत प्रतिनिधित्व हो।

नेपालमा कुनै पनि राजनीतिक दलको केन्द्रीय समितिमा निर्वाचनमार्फत आधाभन्दा बढी महिला निर्वाचित भएको यो सम्भवतः पहिलो घटना हो। नेपालको संविधानले राज्यका निकायमा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरे पनि रास्वपाले प्रतिस्पर्धात्मक निर्वाचनबाटै त्यो सीमाभन्दा उल्लेख्य रूपमा बढी महिला प्रतिनिधित्व स्थापित गरेको हो।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दिपेश घिमिरेले यसलाई नेपाली राजनीतिमा ऐतिहासिक उपलब्धि भन्दै अन्य राजनीतिक दलका लागि पनि महत्वपूर्ण सन्देश भएको बताएका छन्। उनका अनुसार यो उपलब्धिले महिलालाई दलभित्र अवसर र नेतृत्व दिने संस्कृतिको विकास गर्नुपर्ने आवश्यकता अझ स्पष्ट पारेको छ। घिमिरेले निर्वाचनमार्फत महिलाको बलियो उपस्थितिले राजनीति मात्र नभई सामाजिक र आर्थिक क्षेत्रमा पनि महिलाको बढ्दो हस्तक्षेपलाई प्रतिबिम्बित गरेको उल्लेख गरे।

करिब ५१ प्रतिशत महिला जनसंख्या रहेको देशमा राजनीतिमा पनि त्यही अनुपातमा नेतृत्व सम्भव रहेको सन्देश रास्वपाको नतिजाले दिएको उनको भनाइ छ। रास्वपाको कुल १५८ सदस्यीय केन्द्रीय समितिमध्ये विधानअनुसार कम्तीमा ५३ जना महिला हुनुपर्ने व्यवस्था छ। निर्वाचनबाटै ५० जना महिला निर्वाचित भइसकेकाले सभापतिले मनोनयन गर्ने ५१ सदस्यमा पनि उल्लेख्य संख्यामा महिला समावेश हुने अपेक्षा गरिएको छ।

यस्तै, १९ सदस्यीय पदाधिकारीमध्ये निर्वाचन भएका ६ पदमा उपसभापति र सहमहामन्त्री गरी दुई जना महिला निर्वाचित भएका छन्। पार्टीका महामन्त्री विपीन आचार्यका अनुसार सभापतिले मनोनयन गर्ने पदाधिकारीहरूमा पनि कम्तीमा चार जना महिलालाई जिम्मेवारी दिइनेछ। रास्वपाको यो नतिजालाई नेपाली राजनीतिमा महिला नेतृत्व विस्तारतर्फको महत्वपूर्ण र ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?