© 2026
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सम्पूर्ण विभागबाट दलीय विद्यार्थी सङ्गठनका भौतिक तथा साङ्गठनिक संरचना हटाउने प्रक्रिया अघि बढाएको छ ।
यसका लागि त्रिवि शिक्षाध्यक्षको कार्यालयअन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सबै विभागीय प्रमुखलाई निर्देशनसहित पत्राचार गरेको छ ।
विश्वविद्यालय अनुदान आयोग र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनका आधारमा त्रिविले उक्त निर्णय कार्यान्वयन गर्न लागेको हो ।
शिक्षा क्षेत्रमा राजनीतिक दलको हस्तक्षेप अन्त्य गर्ने, विद्यार्थीका वास्तविक समस्या र आवाजलाई प्रभावकारी रूपमा सम्बोधन गर्ने तथा खस्कँदो शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले यो निर्णय गरिएको निर्देशनालयका उपनिर्देशक सन्देश कुमार रेग्मीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।
निर्देशनअनुसार अबको ६० दिनभित्र विश्वविद्यालय परिसरभित्र रहेका दलीय विद्यार्थी सङ्गठनका सबै भौतिक तथा साङ्गठनिक संरचना हटाइसक्नुपर्नेछ । साथै, ती संरचना हटाइएको ९० दिनभित्र विद्यार्थीको साझा र स्वतन्त्र प्रतिनिधित्व सुनिश्चित गर्न ‘स्टुडेन्ट काउन्सिल’ वा ‘भ्वाइस अफ स्टुडेन्ट’ नामक नयाँ संयन्त्र गठन गरिने जनाइएको छ ।
निर्देशनालयले तोकिएको समयसीमाभित्र निर्णय कार्यान्वयन गरी त्यसको प्रगति विवरण यथाशीघ्र उपलब्ध गराउन सबै विभागलाई अनुरोध गरेको छ । उक्त पत्रको बोधार्थ उपकुलपति, शिक्षाध्यक्ष तथा रजिस्ट्रारको कार्यालयमा समेत पठाइएको छ ।
