© 2026
काठमान्डौँ ।
राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपालभर करिब ७५ लाख लिटर दही खपत भई झन्डै १ अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालका अनुसार असार १५ नेपाली कृषि संस्कृति र दुग्ध व्यवसायको आर्थिक चक्रलाई गति दिने प्रमुख पर्वका रूपमा स्थापित भएको छ ।
उनका अनुसार असार १५ मा दही–चिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई नेपाली कृषि अर्थतन्त्र तथा स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने महत्त्वपूर्ण अवसर पनि हो । यस दिन हुने दहीको उच्च खपतले दूध उत्पादक किसान, दुग्ध सहकारी संस्था, डेरी उद्योग तथा समग्र दुग्ध मूल्य शृङ्खलामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
अध्यक्ष दाहालका अनुसार नेपालमा हाल दैनिक ७६ लाख लिटर दूध उत्पादन हुँदै आएको छ । यस क्षेत्रमा मुलुकभरका करिब ६ लाख किसान परिवार प्रत्यक्ष रूपमा आबद्ध छन् । दुग्ध क्षेत्रले नेपालको कृषि कुल गार्हस्थ्य उत्पादनमा उल्लेखनीय योगदान पुर्याउनुका साथै हजारौँ व्यक्तिलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी प्रदान गर्दै ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाएको छ ।
परम्परागत रूपमा नेपाली समाजमा प्रयोग गरिने दही र मोही पोषणका दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छन् । दहीमा उच्च गुणस्तरको प्रोटिन, क्याल्सियम, फस्फोरस तथा भिटामिन बी–१२ जस्ता पोषक तत्त्व पाइन्छन्, जसले पाचन प्रणालीलाई स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ ।
त्यसैगरी, मोही नेपाली जीवनशैलीको अर्को स्वास्थ्यवर्धक तथा पौष्टिक पेय पदार्थ हो । पछिल्लो समय आयातित तथा कृत्रिम पेय पदार्थको बढ्दो प्रयोगबीच केही दुग्ध उद्योगहरूले व्यावसायिक रूपमा मोही उत्पादन सुरु गर्नु सकारात्मक संकेतका रूपमा हेरिएको छ।