© 2026
दाङ । लुम्बिनी प्रदेशमा वन संरक्षण, जैविक विविधताको प्रवर्द्धन र हरित वातावरण निर्माण गर्ने उद्देश्यले बृहत् वृक्षारोपण अभियान सुरु गरिएको छ। वन तथा वातावरण मन्त्रालय, डिभिजन वन कार्यालयहरू तथा सामुदायिक वन उपभोक्ता समूहहरूको सहकार्यमा सञ्चालन भएको अभियानअन्तर्गत प्रदेशभर ६० हेक्टरभन्दा बढी क्षेत्रमा करिब २५ लाख बिरुवा रोपिने भएको छ।
अभियानको शुभारम्भ आइतबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको गढवा गाउँपालिका–२ स्थित महदेवा सामुदायिक वनमा बिरुवा रोपेर गरेका हुन्। उत्पादन गरिएका बिरुवा सरकारी, सार्वजनिक तथा निजी जग्गामा रोपिने वन तथा वातावरण मन्त्रालयले जनाएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वृक्षारोपणसँगै बिरुवाको संरक्षणलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिए। प्रत्येक वर्ष लाखौँ बिरुवा रोपिए पनि संरक्षणको अभावका कारण अपेक्षित सफलता हासिल हुन नसकेको उल्लेख गर्दै उनले वन संरक्षणलाई सबै नागरिकको साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताए।
उनले वन क्षेत्रले वातावरणीय सन्तुलन कायम राख्नुका साथै स्थानीय समुदायको आयआर्जनमा समेत महत्वपूर्ण योगदान पुर्याइरहेको उल्लेख गरे। जडीबुटी, काठ र दाउराको उचित उपयोगबाट स्थानीय नागरिक आत्मनिर्भर बन्दै गएको बताउँदै प्रदेश सरकारले वन क्षेत्रबाट वार्षिक करिब एक अर्ब रुपैयाँ राजस्व संकलन गरिरहेको जानकारी दिए। डिभिजन वन कार्यालय देउखुरीका प्रमुख गणेश खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री इन्द्रजीत थारुले प्रकृति संरक्षण मानव अस्तित्वसँग प्रत्यक्ष जोडिएको विषय भएकाले वन विनाशले दीर्घकालीन संकट निम्त्याउन सक्ने चेतावनी दिए। उनले वन तथा वातावरण संरक्षणलाई अभियानकै रूपमा निरन्तर अघि बढाउनुपर्ने धारणा राखे।
वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईका अनुसार यस वर्षको वृक्षारोपण अभियानमा जैविक विविधताको संरक्षणलाई विशेष प्राथमिकता दिइएको छ। पानी जम्ने क्षेत्रमा जामुन तथा अन्य स्थानमा मौवा, डालेघाँस, फूल फुल्ने र सांस्कृतिक महत्वका विभिन्न प्रजातिका बिरुवा रोपिने उनले जानकारी दिए। वृक्षारोपणपछि नियमित संरक्षण, स्याहार र व्यवस्थापनमा विशेष ध्यान दिनुपर्नेमा पनि उनले जोड दिए।
लमही नगरपालिकाकी कार्यवाहक नगरप्रमुख लक्ष्मी योगीले वन संरक्षणलाई स्थानीय आयआर्जन र उद्यमशीलतासँग जोड्नुपर्ने बताइन्। डिभिजन वन कार्यालय कपिलवस्तु गौतमबुद्ध का प्रमुख महेन्द्रराज वाग्लेले चरिचरण नियन्त्रण, डढेलो व्यवस्थापन, गोडमेल, झाडी सफाइ र नियमित हेरचाहलाई प्राथमिकता दिएमा वृक्षारोपण अभियान प्रभावकारी हुने बताए।
सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भुसालका अनुसार महदेवा सामुदायिक वनको १८ हेक्टर क्षेत्रमा मात्रै ३० हजारभन्दा बढी बिरुवा रोपिएको छ। ती बिरुवाको संरक्षण र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित सामुदायिक वन उपभोक्ता समूहले नै वहन गर्नेछ। कार्यक्रमका अवसरमा वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको सिर्जनामा आधारित वन संरक्षणसम्बन्धी सचेतनामूलक गीतसमेत सार्वजनिक गरिएको थियो।