© 2026
काठमान्डौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को प्रतिस्पर्धी शक्तिका रूपमा पुनः स्थापित हुने दाबी गरेको छ । यसपटकको निर्वाचनमा पराजित भए पनि त्यो स्थायी नभएको भन्दै आगामी दिनमा पुनः बलियो प्रतिस्पर्धी शक्तिका रूपमा उदाउने जनाएको हो ।
आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका प्रमुख सचेतक युवराज दुलाल ‘शरद’ले भने, ‘हामी आवधिक निर्वाचनमा यसपटक तपाईंहरूसँग हारेका हौं, सधैंका लागि हारेका होइनौं । हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौं । दायाँ आसनमा फेरि अरू पनि बस्न आइपुग्न सक्छन् भन्ने कुरा सत्तारुढ दललाई हेक्का दिलाउन चाहन्छु ।’
संसदीय निर्वाचनमा सिट संख्या सानो वा ठूलो हुनु आवधिक परिणाम मात्र भएको उल्लेख गर्दै उनले भने, ‘वास्तविकता के हो भने हामी विचारका बीउ हौं । विचार सही भए र समयसापेक्ष रूपमा विकास भए त्यसले समाजलाई प्रभाव पार्न सक्छ। जसरी एउटा सानो झिल्कोले सिंगो जंगल सखाप पार्न सक्छ ।’
दुलालले नेपालको प्रगतिशील, लोकतान्त्रिक तथा वामपन्थी जनमतको सम्मान गर्दै देशको नेतृत्व गर्ने आफ्नो पार्टीको सपना अझै अडिग रहेको बताए । ‘हामी एकताबद्ध भएर नवीन विचार, नेतृत्व र पहलकदमीसहित अघि बढ्नेछौं। हामी स्वच्छ प्रतिस्पर्धामार्फत राष्ट्र निर्माणमा अग्रसर हुनेछौं,’ उनले भने ।
उनले सरकारको नेतृत्व गरिरहेको रास्वपाको प्रथम महाधिवेशनबाट पारित दस्तावेजमा ‘लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध’ आएको टिप्पणी गरे । त्यसप्रति आफूहरू गम्भीर र सचेत रहेको उल्लेख गर्दै उनले भने, ‘लोकप्रियताको सुन्दर घुम्टोले छोपिएर जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्काउँदै, कमजोर पार्ने कपट र षड्यन्त्रतर्फ बढिरहेको अवस्थाप्रति हामी गम्भीर र सचेत छौं ।’
यद्यपि उनले महाधिवेशनबाट निर्वाचित रास्वपाको नेतृत्व तथा केन्द्रीय समितिलाई बधाइसमेत दिएका छन् ।