Butwal Today

कोसी प्रदेशलाई निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि

१४ असार २०८३, आइतबार
अ+
अ-

जनकपुरधाम ।  मधेस प्रदेशमा जारी निको कप महिला टि–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोसी प्रदेशले हात पारेको छ ।

पर्साको वीरगञ्जस्थित टिवी शाह क्रिकेट ग्राउण्डमा आज सम्पन्न फाइनलमा नेपाल एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोसी प्रदेशले उपाधि हात पारेको हो ।

टस जितेर एपिएफ क्लबले फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको कोसी प्रदेशले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९८ रनको योगफल खडा गरेको थियो ।

कोशीका लागि कोशीका काजल श्रेष्ठले अविजित ३८ रन, प्रिन्सा राना मगरले अविजित १६ रन, कप्तान रुवीना क्षेत्रीले १२ रन र लकिता राजवंशीले १० रनको योगदान दिइन् ।

एपिएफका सुमन विष्ट, सवनम राई, कविता जोशी र कप्तान सीता रानामगरले एक एक विकेट हात पारे । ९९ रनको विजयी लक्ष्य लिई मैदान उत्रेको एपिएफ क्लब १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाएर ८७ रन मात्र जोड्न सक्यो ।

एपिएफ क्लबका कविता जोशीले १४ तथा रेवती धामीले १२ रन बनाउनुबाहेक अन्य कुनै पनि ब्याटरले दोहोरो अङ्क जोड्न सकेनन् ।

फाइनल खेलको म्यान अफ द म्याच कोसी प्रदेशका काजल श्रेष्ठ घोषित भइन् । श्रेष्ठ प्रतियोगिताको प्लेयर अफ द सिरिज घोषित हुँदा बागमती प्रदेशका कृष्णा गुरुङ बेस्ट बलर र बागमती प्रदेशकै सोनी पाख्रिन वेष्ट ब्याटर घोषित भएका छन् ।

मधेस प्रदेश सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालय, मधेस खेलकुद परिषद् तथा नेपाल खेलकुद महासङ्घको संयोजना सम्पन्न प्रतियोगितामा सात वटा प्रदेश र विभागीय टिम एपिएफ टिम गरी आठ टिमको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?