Butwal Today

भारी वर्षाले लिटमस केवल इन्डष्ट्रिज डुबानमा, उत्पादन प्रभावित

१४ असार २०८३, आइतबार
अ+
अ-

बुटवल ।

शनिबार राति परेको अविरल वर्षाका कारण बुटवल औद्योगिक क्षेत्रमा रहेको लिटमस केवल इन्डष्ट्रिज लिमिटेड डुबानमा परेको छ । उद्योग परिसरभित्र ठूलो परिमाणमा पानी पसेपछि उत्पादन प्लान्ट, मेसिनरी तथा अन्य उपकरणमा क्षति पुगेको उद्योगले जनाएको छ ।

उद्योगका प्रशासन प्रमुख भुवन गिरीका अनुसार भारी वर्षापछि पानीको निकास हुन नसक्दा उद्योग परिसर नै जलमग्न बनेको हो । पानी प्लान्टभित्र प्रवेश गरेपछि उत्पादनका लागि प्रयोग हुने महत्वपूर्ण मेसिनहरू डुबानमा परेका छन् । क्षतिको विस्तृत विवरण संकलन भइरहेको र प्रारम्भिक रूपमा ठूलो आर्थिक नोक्सानी भएको अनुमान गरिएको उनले बताए ।

गिरीका अनुसार बुटवल औद्योगिक क्षेत्रमा रहेको उद्योग वर्षायाममा पटक–पटक डुबानको समस्याबाट प्रभावित हुँदै आएको छ । पूर्व–पश्चिम राजमार्गको सतह उद्योग परिसरभन्दा अग्लो भएकाले वर्षाको पानी सहज रूपमा बाहिर निस्कन नसकी उद्योगतर्फ सोझिने गरेको उनको भनाइ छ ।

उनले औद्योगिक क्षेत्रभित्रका नालीको नियमित मर्मत तथा सरसफाइ नहुँदा पानीको निकास अवरुद्ध हुने गरेको उल्लेख गर्दै यस समस्याको दीर्घकालीन समाधानका लागि सरकार र सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने माग गरे । “हरेक वर्ष वर्षायाममा उद्योग डुबानमा पर्दा उत्पादनमा असर पर्ने र ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था दोहोरिएको छ,“ उनले भने ।

नेपालकै अग्रणी तार, केबल तथा कन्डक्टर उत्पादक कम्पनीका रूपमा परिचित लिटमस केवल इन्डष्ट्रिज लिमिटेड देशको पहिलो पब्लिक कम्पनी हो, जसले विद्युतीय तार, केबल र कन्डक्टर उत्पादन गर्दै आएको छ । कम्पनीले एल्युमिनियम तथा एल्युमिनियम एलोय रडसमेत उत्पादन गर्दै आएको छ ।

रूपन्देहीस्थित बुटवल औद्योगिक क्षेत्रलाई मुख्य उत्पादन केन्द्र बनाएको यस उद्योग नेपालबाट भारततर्फ सबैभन्दा बढी विद्युतीय सामग्री निर्यात गर्ने उद्योगमध्ये एक हो । निर्यात प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै नेपाल उद्योग परिसंघ ९सीएनआई० ले कम्पनीलाई ‘निर्यात उत्कृष्टता सम्मान’ समेत प्रदान गरिसकेको छ ।

उद्योगले बारम्बार दोहोरिने डुबान समस्याले उत्पादन, रोजगारी र निर्यातमा प्रत्यक्ष असर पर्ने भएकाले वर्षायामअघि नै प्रभावकारी जलनिकास व्यवस्था, नाली मर्मत तथा पूर्वाधार सुधारका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?