© 2026
काठमान्डौँ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा भित्रिएका केही तरकारीमा अत्यधिक विषादीको अवशेष भेटिएपछि ती तरकारी उपभोग नगर्न तथा तत्काल नष्ट (विसर्जन) गर्न निर्देशन दिइएको छ ।
केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवन, ललितपुरको प्रयोगशाला एकाइले असार १२ गते गरेको द्रुत विषादी अवशेष विश्लेषण परीक्षणको नतिजाअनुसार बजारमा ल्याइएका केही तरकारी मानव स्वास्थ्यका लागि हानिकारक तथा उपभोगका लागि अयोग्य पाइएको हो ।
प्रयोगशालाको परीक्षण प्रतिवेदनअनुसार धादिङको गजुरी गाउँपालिकाबाट ल्याइएको लौका, मकवानपुरको थाहा नगरपालिकाबाट ल्याइएको काउली र सल्यानबाट ल्याइएको आलुमा अर्गानोफस्फेट विषादीको मात्रा सुरक्षित सीमाभन्दा निकै बढी पाइएको छ ।
कृष्णबहादुर धितालले ल्याएको धादिङको लौकामा ६६.५१ प्रतिशत, रामेश्वरप्रसाद कानुले ल्याएको मकवानपुरको काउलीमा ६४.५४ प्रतिशत र भरतप्रसाद अर्यालले ल्याएको सल्यानको आलुमा ६६.९९ प्रतिशत अर्गानोफस्फेट विषादीको रोकावट दर (इन्हिबिसन प्रतिशत) देखिएकाले ती तरकारी तत्काल विसर्जन गर्नुपर्ने सूचीमा परेका हुन् ।
मापदण्डअनुसार विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी देखिएमा त्यस्ता कृषि उपज नष्ट गर्नुपर्ने प्रावधान छ । सोही दिन परीक्षण गरिएका अन्य नौ वटा नमुना भने उपभोगका लागि सुरक्षित र योग्य पाइएको प्रयोगशालाले जनाएको छ ।
ललितपुरको गोदावरीबाट ल्याइएको गोलभेँडा, मकवानपुरको बन्दागोभी, धादिङको तितेकरेला र भान्टा, रोल्पाको आलु, सिन्धुपाल्चोकका दुई फरक स्थानबाट ल्याइएका आलु, सल्यानको अर्को नमुना आलु तथा भारतबाट आयात गरिएको प्याजमा विषादीको मात्रा तोकिएको सीमाभन्दा कम रहेकाले ती सामग्री खान योग्य प्रमाणित भएका हुन् ।
प्रयोगशालाको मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी रोकावट दर भएका कृषि उपज उपभोगयोग्य मानिन्छन् । ३५ देखि ४५ प्रतिशतसम्म रोकावट दर देखिएमा भने केही दिन राखेपछि मात्र उपभोग गर्न सकिने व्यवस्था छ ।
