© 2026
काठमान्डौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले कम्युनिस्टहरूले गरेका गल्तीहरूको गम्भीर आत्मसमीक्षा गर्ने समय आएको बताएका छन् ।
नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले जनताको बदलिँदो मनोविज्ञान बुझ्न नसक्दा कम्युनिस्ट आन्दोलन कमजोर भएको उल्लेख गरे । “हामीले जनताको बदलिँदो मनोविज्ञानलाई बुझ्न सकेनौं । हामीभित्र के–कस्ता विकृति आए रु त्यसको आत्मसमीक्षा गरौं,”नेपालले भने, “यो एउटा पार्टीको मात्र कुरा होइन । नेपालका सबै कम्युनिस्ट घटकहरूले आत्ममन्थन गर्न सक्नुपर्छ । त्यो गर्न सक्यौं भने मात्रै कम्युनिस्टहरूलाई एकताबद्ध बनाउन सकिन्छ ।”
उनले जननेता मदन भण्डारीको भनाइ उद्धृत गर्दै केवल भाषण र नाराले परिवर्तन सम्भव नहुने बताए ।“मदन भण्डारीले भन्नुहुन्थ्यो, ‘कुरा गरेर मात्रै चिउरा भिज्नेवाला छैन ।’ अहिले मिल्न सक्ने विषयमा मिलेर अघि बढ्नुपर्ने आवश्यकता छ,”नेपालले भने ।
उनले आत्मकेन्द्रित चिन्तन, व्यक्तिवाद र भ्रष्ट प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाएको संकेत गरे । “समाजवादी क्रान्तिको चरणमा पुगेपछि हामीले नेपाली समाजलाई कसरी अघि बढाउने रु कहाँ चुक्यौं रु कहाँ गल्ती गर्यौं रु यति ठूलो उचाइमा पुगेको कम्युनिस्ट पार्टी आज किन कमजोर भयो रु हामी सबैले आत्मसमीक्षा गर्नुपर्छ,”उनले भने, “विचार, सिद्धान्त, व्यक्तिवादी प्रवृत्ति, ‘मै हुँ’ भन्ने अहंकार र भ्रष्टाचारजस्ता कारणबारे खुलेर समीक्षा गर्न आवश्यक छ ।”
मदन भण्डारीको स्मरण गर्दै नेपालले उनको दूरदर्शी सोच र अनुशासनबाट प्रेरणा लिनुपर्ने बताए । “उहाँले समस्याको पहिचान गर्न खोज्नुहुन्थ्यो । वास्तविकताको धरातलमा उभिएर सोच्नुहुन्थ्यो । चुनौतीको सामना गर्ने आँट गर्नुपर्छ भन्नुहुन्थ्यो । पार्टीको अनुशासन उहाँले कहिल्यै तोड्नुभएन,” नेपालले भने ।
उनले जनताको बहुदलीय जनवादका केही पक्ष आज पनि सान्दर्भिक रहेको उल्लेख गर्दै प्रतिस्पर्धामा उत्कृष्ट बन्ने सोचलाई आत्मसात् गर्नुपर्ने धारणा व्यक्त गरे ।