Butwal Today

एन्फामाथिको निलम्बन फुकुवा गर्न सरकारले तत्काल पहल गर्नुपर्दछ : आर्यन राई

१४ असार २०८३, आइतबार
अ+
अ-

काठमान्डौँ ।

श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि विश्व फुटबल महासंघ ९फिफा० ले लगाएको निलम्बन फुकुवा गराउन सरकारले तत्काल आवश्यक पहल गर्नुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाली राष्ट्रिय टोली र क्लबका खेलाडीहरूको भविष्य सुरक्षित गर्न सरकारले फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको निलम्बन यथाशीघ्र फुकुवा गराउन कूटनीतिक, कानुनी र प्रशासनिक पहल अघि बढाउनुपर्ने बताए ।

सांसद राईले खेल क्षेत्रमा राजनीतिक वा प्रशासनिक हस्तक्षेप नहुने वातावरण सुनिश्चित गर्न पनि सरकारको ध्यानाकर्षण गराए । उनका अनुसार युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले औंल्याएको तेस्रो पक्षको हस्तक्षेपसम्बन्धी विषय समाधान गर्न पहल गर्नुपर्छ ।

उनले भने, ‘युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एन्फाबीच तत्काल उच्चस्तरीय वार्ता गरी फिफाले उठाएको तेस्रो पक्षको हस्तक्षेपसम्बन्धी विषय यथाशीघ्र समाधान गरियोस् । फिफाको विधान र अन्तर्राष्ट्रिय खेलकुद कानुनअनुसार एन्फालाई विधान संशोधन, निर्वाचन प्रक्रिया तथा आन्तरिक व्यवस्थापन स्वतन्त्र रूपमा सञ्चालन गर्न सक्ने वातावरण सुनिश्चित गरियोस् ।’

उनले थपे, ‘खेलकुद ऐन र फिफाको नियमबीच रहेका कानुनी अस्पष्टता तत्काल हटाइयोस्। खेलकुद क्षेत्रमा आवश्यक सरकारी नियमन कायम राख्दै अन्तर्राष्ट्रिय रूपमा समस्या निम्त्याउने राजनीतिक तथा प्रशासनिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य गरियोस् । राष्ट्रिय टोली र क्लबका खेलाडीहरूको भविष्य जोगाउन तथा फिफाले तोकेका सबै सर्त पूरा गरी एन्फामाथिको निलम्बन यथाशीघ्र फुकुवा गराउन सरकारबाट आवश्यक कूटनीतिक, कानुनी र प्रशासनिक पहल तत्काल अघि बढाइयोस् ।’

सांसद राईले विद्यमान खेलकुद ऐन र फिफाको नियमबीच रहेको कानुनी अस्पष्टता हटाउने गरी आवश्यक कानुनी व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरे ।

यसैबीच, रास्वपाकी सांसद श्रद्धा कुँवरले पनि उक्त विषयमा सरकारको ध्यानाकर्षण गराउँदै घटनाको छानबिन गर्न माग गरिन् ।

उनले भनिन्, ‘यो राष्ट्रिय धक्काको विषय हो । यसबारे छानबिन होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?