© 2026
काठमाडौं । काठमाडौंबाट धनगढीतर्फ उडेको श्री एयरलाइन्सको जहाजमा उडानकै क्रममा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ।
आइतबार अपराह्न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको जहाजको ककपिटमा केही समयपछि धुवाँ देखिएको थियो। त्यसपछि पाइलटले सुरक्षा मापदण्डअनुसार तत्काल आपतकालीन प्रक्रिया अपनाउँदै जहाजलाई भैरहवामा सुरक्षित अवतरण गराएका हुन्।
जहाज सुरक्षित रूपमा अवतरण भएको र विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सकुशल रहेको श्री एयरलाइन्सले जनाएको छ। घटनापछि प्राविधिक टोलीले जहाजको विस्तृत परीक्षण सुरु गरेको छ भने ककपिटमा धुवाँ देखिनुको वास्तविक कारणबारे अनुसन्धान भइरहेको छ।
भैरहवामा रोकिएका यात्रुहरूलाई गन्तव्य धनगढी पुर्याउन श्री एयरलाइन्सले अर्को जहाज पठाइसकेको जनाएको छ। घटनाका कारण उडान तालिकामा केही समय सामान्य प्रभाव परेको भए पनि यात्रुको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सबै प्रक्रिया अपनाइएको एयरलाइन्सले जनाएको छ।