Butwal Today

विभेद बिरुद्ध बुटवलमा बृहत अन्तरसंवाद, समावेशी समाज निर्माणमा जोड

१३ असार २०८३, शनिबार
अ+
अ-

बुटवल । बुटवल उपमहानगरपालिकाको आयोजना तथा रेडियो जागरणको समन्वयमा जातीय विभेदको अन्त्य र समावेशी समाज निर्माणको उद्देश्यसहित शनिबार बुटवलमा बृहत अन्तरसंवाद कार्यक्रम भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले आफू निर्वाचित भएपछि नगरसभाबाट “समानता, स्वाभिमान र अवसरयुक्त बस्न योग्य बुटवल” भन्ने मूल नारालाई पारित गरी कार्यान्वयनमा ल्याइएको बताए। उनले बुटवललाई विभेदमुक्त, समानतामूलक र मानवताप्रति सम्मान गर्ने शहरका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गरेका थिए। नगर प्रमुख पाण्डेयले शिक्षा, आर्थिक, राजनीतिक तथा सामाजिक सुधारमार्फत जातीय विभेद अन्त्य गर्न सकिने धारणा राख्दै दलित समुदायको उत्थानका लागि सुनचाँदीका गरगहना निर्माण, पञ्चेबाजा लगायतका विभिन्न सीपमूलक तालिम सञ्चालन गरी आत्मनिर्भर बनाउन प्रयास भइरहेको जानकारी दिए।

कार्यक्रमको पहिलो सत्रमा ‘बुटवल उपमहानगरपालिकाको नीति कति समावेशी’ विषयमा बहस भएको थियो। बहसमा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं.१५ का अध्यक्ष शिव राना र अध्यापक जीवन परियार वक्ताका रूपमा सहभागी भएका थिए। कार्यक्रमको सहजीकरण पत्रकार फूलु सुनारले गरेकी थिइन्। दोस्रो सत्रमा ‘दलित समुदायको संवैधानिक अधिकार र कानुन कार्यान्वयनको अवस्था’ विषयमा छलफल गरिएको थियो। राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेश प्रमुख सन्तोष आचार्य, सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रकाश मरासिनी, इलाका प्रहरी कार्यालय बुटवलका इन्स्पेक्टर अक्षयकुमार रावल, लुम्बिनी प्रदेशकी पूर्व सांसद दीपा विक तथा अधिवक्ता गोमती सुनारले आफ्ना धारणा राखेका थिए। उक्त सत्रको सहजीकरण पत्रकार विनोद परियारले गरेका थिए। तेस्रो सत्रमा ‘जनप्रतिनिधिको अनुभवः सिकाइ, चुनौती र अवसर’ विषयमा बहस भएको थियो। बुटवल उपमहानगरपालिकाका कार्यपालिका सदस्य यमबहादुर सुनार, कृष्ण सुनार, सुनिता खड्लुक र बसन्ती विक वक्ताका रूपमा सहभागी भएका थिए भने सहजीकरण पत्रकार अम्बिका परियारले गरेकी थिइन्।

कार्यक्रममा सहभागीहरूले २१औँ शताब्दीमा पनि जातीय विभेद समाजमा विद्यमान रहेको भन्दै यसको प्रभावकारी अन्त्यका लागि कानुनको कडाइका साथ कार्यान्वयन हुनुपर्नेमा जोड दिए। संविधानले अधिकार सुनिश्चित गरे पनि व्यवहारमा पूर्ण कार्यान्वयन हुन नसक्दा दलित समुदाय अझै विभेदको सामना गर्न बाध्य भएको उनीहरूको भनाइ थियो।

अन्तरसंवाद कार्यक्रममा जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मा, बुटवल–६ का वडा अध्यक्ष लोकनाथ न्यौपाने, बुटवल–९ का वडा अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, रेडियो जागरणका सञ्चालक सरोज गौतम, तिलोत्तमा नगरपालिकाका कार्यपालिका सदस्य रवि सेन्चुरी, संयुक्त दलित संघर्ष समितिका संयोजक हरिओम विश्वकर्मा, दलित अगुवा पदम विश्वकर्मा, विभिन्न वडाका जनप्रतिनिधि, अधिकारकर्मी, सञ्चारकर्मी तथा सरोकारवालाको सहभागिता रहेको थियो। दुई दिनसम्म सञ्चालन हुने अन्तरसंवाद कार्यक्रम आइतबार सम्पन्न हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?