© 2026
बुटवल। प्रहरी नायब महानिरीक्षक भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये पहिलो स्थान हासिल गरेको छ। प्रहरी प्रधान कार्यालयले अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन, सेवा प्रवाह तथा नागरिकमुखी प्रहरी सेवाका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट घोषित भएको हो।
डीआईजी खत्रीको नेतृत्वमा प्रदेश प्रहरीले प्रविधिमैत्री सेवा, नागरिकसँगको सम्बन्ध सुदृढीकरण तथा प्रभावकारी सुरक्षा व्यवस्थापनलाई प्राथमिकतामा राख्दै विभिन्न नवप्रवर्तनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ।सेवा प्रवाहलाई सहज, छिटोछरितो र प्रभावकारी बनाउन डिजिटल उजुरी प्रणाली, एसएमएसमार्फत सेवाग्राहीलाई सूचना उपलब्ध गराउने व्यवस्था लगायतका प्रविधिको प्रयोग विस्तार गरिएको छ। साथै साइबर अपराध नियन्त्रण, सार्वजनिक सुरक्षा प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न ‘ह्याक फर सेफ्टी’ जस्ता कार्यक्रम सञ्चालन गरिएको छ।नागरिक केन्द्रित प्रहरी सेवाको अवधारणालाई व्यवहारमा उतार्दै डीआईजी खत्रीले मातहतका जिल्ला प्रहरी कार्यालय तथा सीमावर्ती प्रहरी इकाइहरूको नियमित अनुगमन गर्दै सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र गुणस्तर अभिवृद्धिमा विशेष जोड दिएका छन्।
लुम्बिनी प्रदेश प्रहरीले सीमा सुरक्षा, अपराध नियन्त्रण, मानव बेचबिखन तथा ठगीविरुद्ध विशेष अभियान सञ्चालन गर्दै उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ। भारतको कुशीनगरलगायत विभिन्न स्थानमा बन्धक बनाइएका सयौँ नेपाली नागरिकको उद्धार तथा सङ्गठित अपराध सञ्जालविरुद्ध गरिएको कारबाहीलाई पनि उल्लेखनीय उपलब्धिका रूपमा लिइएको छ।
प्रविधिको प्रभावकारी प्रयोग, कडा अनुशासन, व्यावसायिक नेतृत्व र नागरिकमैत्री सेवाका कारण लुम्बिनी प्रदेश प्रहरीले संगठनभित्र मात्र होइन, आम नागरिकमाझ पनि सकारात्मक छवि निर्माण गर्न सफल भएको छ। यिनै उपलब्धिका आधारमा प्रदेश प्रहरी कार्यालयहरूबीचको कार्यसम्पादन मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरीले पहिलो स्थान हासिल गरेको हो।