Butwal Today

स्थानीय उत्पादनको बजारीकरणले ग्रामीण अर्थतन्त्र बलियो बन्छ: मुख्यमन्त्री आचार्य

१३ असार २०८३, शनिबार
अ+
अ-

प्युठान। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय उत्पादनको प्रभावकारी बजारीकरणबाट मात्रै ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सकिने बताएका छन्। सरुमारानी गाउँपालिका–२ बगालेमा स्थापना गरिएको हाट बजारको शनिबार उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले हाट बजारमा स्थानीय किसानले उत्पादन गरेका वस्तुलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।

भारतबाट आयात गरिएका तरकारी तथा अन्य कृषि उपज बिक्री नगरी स्थानीय किसानले उत्पादन गरेका तरकारी, फलफूल, मह, घ्यूलगायत कृषि उत्पादनको बिक्री–वितरण गर्नुपर्ने उनको भनाइ थियो।“यो हाट बजार स्थानीय उत्पादनको बजार बन्नुपर्छ। यसबाट किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउनेछन् र स्थानीय अर्थतन्त्र पनि थप बलियो हुनेछ,” मुख्यमन्त्री आचार्यले भने। उनले बगालेमा स्थापना गरिएको हाट बजार दाङ, अर्घाखाँची, रोल्पा र गुल्मीका उपभोक्ताका लागि समेत सहज पहुँच भएको उपयुक्त व्यापारिक केन्द्र बन्न सक्ने विश्वास व्यक्त गरे।

प्रदेश सरकारले कृषि क्षेत्रको यान्त्रिकीकरण, व्यवसायीकरण तथा अर्गानिक उत्पादनलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उल्लेख गर्दै उनले किसानलाई व्यावसायिक तथा अर्गानिक खेतीतर्फ आकर्षित हुन आग्रह गरे।कार्यक्रममा सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले स्थानीय कृषि तथा पशुजन्य उत्पादनलाई प्रवर्द्धन गर्दै उद्यमसँग जोड्ने उद्देश्यका साथ गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए। उनले कोसेली घर, संकलन केन्द्र तथा हाट बजारको व्यवस्थापन र सञ्चालनको जिम्मेवारी सामाजिक उद्यमी सहकारी संस्थालाई हस्तान्तरण गरिएको जानकारी दिए।

पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य तुलसीराम शर्माले यस क्षेत्रको कृषि विकासमा सिँचाइ सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गर्दै राप्ती नदीको पानी लिफ्ट इरिगेसनमार्फत ल्याउन सके कृषि उत्पादनमा उल्लेखनीय वृद्धि हुने धारणा राखे। उनले सिँचाइ पूर्वाधार विस्तारमा प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनुपर्ने आवश्यकता रहेको बताए । हेफर इन्टरनेशनल नेपालका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रकाश केसीले किसानलाई आत्मनिर्भर बनाउने, उत्पादनको बजारीकरण गर्ने तथा आयआर्जन वृद्धि गर्ने उद्देश्यले हाट बजार स्थापना गरिएको बताए।

संविधानसभा सदस्य धनबहादुर रायमाझीले किसानले आफ्ना उत्पादनको मूल्य आफैँ निर्धारण गर्न सक्ने वातावरण सिर्जना हुनु सकारात्मक कदम भएको बताए। प्रत्येक शनिबार सञ्चालन हुने हाट बजारबाट स्थानीय किसानले आफ्ना उत्पादन प्रत्यक्ष रूपमा उपभोक्तासम्म पुर्‍याउने अवसर पाउने तथा कृषि उत्पादनको बजारीकरणसँगै ग्रामीण अर्थतन्त्रमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?