© 2026
बुटवल । पश्चिम नेपालकै प्रमुख सरकारी स्वास्थ्य संस्था लुम्बिनी प्रादेशिक अस्पतालले बिरामीको बढ्दो चापलाई व्यवस्थित गर्न तथा गम्भीर प्रकृतिका बिरामीलाई प्राथमिकताका साथ उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आकस्मिक कक्षमा ‘ट्रयाज प्रणाली’ लागू गरेको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.विष्णुप्रसाद गौतमका अनुसार हाल अस्पतालमा दैनिक २ हजारदेखि २ हजार ५ सयसम्म सेवाग्राही उपचार तथा स्वास्थ्य परामर्शका लागि आउने गरेका छन्। सीमित जनशक्ति र स्रोतसाधनका बीच गम्भीर बिरामीलाई समयमै उपचार उपलब्ध गराउन ट्रयाज प्रणाली प्रभावकारी हुने विश्वास अस्पतालको छ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत निजी स्वास्थ्य संस्थामा सेवा बन्द गरेपछि बीमासम्बन्धी सेवा लिन आउने बिरामीको संख्या सरकारी अस्पतालमा उल्लेख्य रूपमा बढेको छ। निजी अस्पतालबाट रिफर भई आउने तथा सिधै बीमाको सेवा लिन आउने सेवाग्राही थपिँदा लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चाप झनै बढेको अस्पताल प्रशासनले जनाएको छ।
डा.् गौतमका अनुसार ट्रयाज प्रणालीमा अस्पताल पुगेका बिरामीलाई उनीहरू आएको पालोका आधारमा होइन, स्वास्थ्य अवस्थाको गम्भीरताको आधारमा वर्गीकरण गरिन्छ। अत्यन्त गम्भीर अवस्थाका बिरामीलाई रेड जोन रातो कोडमा राखी तत्काल उपचार सुरु गरिन्छ।
यस्तै, मध्यम तथा गम्भीर अवस्थाका बिरामीलाई येलो जोन पहेँलो कोडमा र सामान्य ज्वरो, हल्का चोटपटक वा केही समय पर्खँदा ज्यानको जोखिम नहुने बिरामीलाई ग्रीन जोन हरियो कोडमा वर्गीकरण गरिन्छ।अस्पतालका अनुसार यस प्रणालीले आकस्मिक कक्षको व्यवस्थापन सहज बनाउनुका साथै गम्भीर बिरामीले समयमै उपचार पाउने सुनिश्चितता गर्नेछ र उपचारको पालो कुर्दाकुर्दै ज्यान गुमाउनुपर्ने जोखिम पनि न्यून हुने अपेक्षा गरिएको छ।
अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, सहज र गुनासोरहित बनाउन आवश्यक सबै प्रयास भइरहेको बताए। उनले उपलब्ध स्रोतसाधन र बढ्दो सेवाग्राहीको चापबीच ठूलो अन्तर रहेकाले सेवा व्यवस्थापन दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरे।