© 2026
“मानिसले थुथु गर्थे, मैले मनको कुरा सुनेँ : आज तिनै मानिसहरू ‘अरे वा’ भन्छन् ।”
नेपालको सांगीतिक क्षेत्रमा यस्ता धेरै कलाकार छन्, जसले सफलता पाउनुअघि असंख्य संघर्षका अध्याय पार गरेका छन् । तीमध्ये एक हुन् शिव शर्मा लामिछाने । समसामयिक विषयलाई भजनको शैलीमा प्रस्तुत गरेर सामाजिक सञ्जालमा लाखौँ दर्शक–श्रोताको मन जित्न सफल शिवको यात्रा कुनै सामान्य कथा होइन् । यो एउटा गाउँका साधारण केटाले आफ्नो सपना, विश्वास र निरन्तर मेहनतका बलमा बनाएको प्रेरणादायी यात्रा हो ।
भाडखोलादेखि नौडाँडासम्मको बाल्यकाल
वि.सं.२०५३ साल वैशाख ५ गते स्याङ्जाको फेदीखोला गाउँपालिका–४, भाडखोला करम्दीमा जन्मिएका शिव शर्मा लामिछानेको बाल्यकाल भने जन्मथलोभन्दा फरक ठाउँमा बित्यो । उनको हुर्काइ, बाल्यकालका सम्झना र युवावस्थाका धेरै वर्ष स्याङ्जाको नौडाँडा–कुनौटा क्षेत्रमा बिते। सानैदेखि उनी गीत–संगीत र हास्यव्यङ्ग्यप्रति आकर्षित थिए । विद्यालयमा हुने सांस्कृतिक कार्यक्रमहरूमा उनी नियमित सहभागी हुन्थे । कक्षा ३ मा पढ्दाको एउटा घटनाले उनको जीवनको दिशा नै बदलिदियो । विद्यालयको कार्यक्रममा गीत गाएर प्रथम भएपछि उनले संगीतप्रतिको आफ्नो लगाव अझ गहिरो बनाएको सम्झन्छन् । उनको गायन प्रतिभाको चर्चा फैलियो । अन्य विद्यालयका प्रधानाध्यापकसमेत उनको प्रतिभाबाट प्रभावित बने । परिणामस्वरूप, विभिन्न बोर्डिङ विद्यालयले उनलाई निःशुल्क अध्ययनको अवसर प्रदान गरे ।
प्रतिभाले दिलाएको निःशुल्क शिक्षा
कक्षा ५ देखि कक्षा १० सम्मको अध्ययन उनले विभिन्न विद्यालयमा निःशुल्क रूपमा गर्ने अवसर पाए । स्वाभिमान बोर्डिङ स्कुल, स्याङ्जा उच्च माध्यमिक विद्यालय, सिसु निकेतन बोर्डिङ स्कुल लगायतका शैक्षिक संस्थाले उनको प्रतिभालाई सम्मान गर्दै पढाइको जिम्मेवारी लिए । तर शिव केवल गायक मात्र थिएनन्। उनी हास्यव्यङ्ग्य र कलाकारको क्यारिकेचर गर्न पनि उत्तिकै सिपालु थिए । चर्चित कलाकारको स्वर, शैली र हाउभाउको नक्कल गरेर उनी विद्यालय तथा स्थानीय कार्यक्रममा दर्शकलाई मनोरञ्जन दिन्थे। यही कला आज पनि उनीसँग जीवित छ ।
सपनाको खोजी र असफलताका वर्षहरू एसएलसीपछि शिवले संगीत क्षेत्रमा केही गर्ने दृढ संकल्प लिए। तर सपना जति ठूलो थियो, यात्रा त्यति सहज थिएन। संगीतमा प्रयास गरे, क्यारिकेचरमा पनि लागे, तर अपेक्षित सफलता हात लागेन् । ११ र १२ कक्षा पूरा गरेपछि उनले “स्याङ्जाली धुर्मुस” को नामबाट विभिन्न स्टेज कार्यक्रम गर्न थाले । स्थानीयस्तरमा राम्रो चर्चा भए पनि त्यसले जीवन बदल्ने उपलब्धि भने दिन सकेन् । आर्थिक यथार्थले उनलाई अन्ततः वैदेशिक रोजगारीतर्फ धकेल्यो। आफ्नो कला र सपना बोकेर उनी दुबई पुगे ।
दुबईको मरुभूमिमा पनि संगीतको तिर्खा
दुबईमा रहँदा पनि संगीतप्रतिको मोह कहिल्यै कम भएन। कामको व्यस्तता भए पनि उनी दिनरात गीत सुन्थे। संगीत नै उनको साथी थियो, संगीत नै उनको सपना । विदेशमा रहँदा पनि मनभित्र एउटा आवाज निरन्तर गुञ्जिरहन्थ्यो , ‘एक दिन कलाकार बन्नेछु ।’ केही वर्षपछि उनी नेपाल फर्किए । फेरि संगीत क्षेत्रमा केही गर्ने प्रयास गरे । तर परिस्थिति फेरि पनि सहज बनेन। उनी अर्को देश जाने तयारीमा थिए। भिसाको प्रक्रिया चलिरहेको थियो । तर नियतिले उनको जीवनका लागि अर्को योजना बनाइसकेको थियो ।
स्वस्थानीको भजनबाट सुरु भएको नयाँ अध्याय
त्यो समय स्वस्थानी व्रतकथाको महिना चलिरहेको थियो। शिवले हातमा खैजडी लिएर भजन–कीर्तन गाउन थाले । सुरुमा उनले परम्परागत भजन गाए । तर उनको मनमा एउटा नयाँ सोच जन्मिइरहेको थियो । उनी भजनलाई केवल धार्मिक सीमाभित्र राख्न चाहँदैनथे । समाजमा घटिरहेका घटनाहरू, जनताको पीडा, समसामयिक विषय र सामाजिक यथार्थलाई पनि भजनमार्फत प्रस्तुत गर्न चाहन्थे । त्यसपछि उनले समसामयिक विषयमा आधारित भजनहरू सिर्जना गर्न थाले । यही निर्णयले उनको जीवन बदलिदियो ।
सामाजिक सञ्जालमा एकाएक उदाएको नाम
उनले गाएका छोटा–छोटा टुक्काहरू फेसबुक र टिकटकमा भाइरल हुन थाले। दर्शक–श्रोताले भजनको नयाँ शैली रुचाए। समाजका वास्तविक घटना र विषयवस्तुलाई भजनको माध्यमबाट प्रस्तुत गर्ने उनको शैलीले सबैको ध्यान खिच्यो । हेर्दाहेर्दै शिव शर्मा लामिछाने सामाजिक सञ्जालका चर्चित नाम बने । उनको लोकप्रियताले पहिलो एल्बम जन्मायो ।
’प्रभु तिम्रै शरण’ देखि सफलताको श्रृंखला
उनको पहिलो चर्चित एल्बम ‘प्रभु तिम्रै शरण’ दर्शक–श्रोतामाझ अत्यन्त लोकप्रिय बन्यो । त्यसपछि उनले लगातार धेरै गीतहरू सार्वजनिक गरे ।
म पनि तिम्रै भक्त हुँ, देवता एक, नाम अनेक, बाहुनले राँगो खाए, स्याङ्जाली ख्याली रोइला, म पनि तिम्रै भक्त हुँ – भाग २८, झुटै रहेछ संसार, के हो प्रभु यो चाल, नाम लगायतका भजन गीत गाइसकेका छन् । यी गीतले उनलाई अझ व्यापक पहिचान दिलाए । विशेषगरी समसामयिक विषयमा आधारित भजनहरूले उनलाई फरक पहिचान बनाइदिए । आजसम्म उनले १२० भन्दा बढी लाइभ तथा स्टुडियो गीत गाइसकेका छन् ।
भजनमा समाजको ऐना
शिवका अधिकांश सिर्जना भजन भए पनि ती केवल धार्मिक गीत मात्र होइनन्। उनका भजन समाजका वास्तविक घटनाको दस्तावेज जस्तै छन् । समाजमा घटेका घटना, जनभावना, विकृति, विसंगति र समसामयिक विषयलाई सरल भाषामा प्रस्तुत गर्नु उनको विशेषता बनेको छ। त्यसैले उनका गीतहरू आम मानिसले आफ्नो जीवनसँग जोडेर सुन्ने गरेका छन् ।
‘गीत–संगीतमा भविष्य छैन’ भन्नेहरूलाई जवाफ धेरै मानिसहरू गीत–संगीतलाई अस्थिर क्षेत्र मान्छन्। तर शिवको सोच फरक छ । उनको विश्वास छ, यदि लगन, निरन्तरता र मेहनत छ भने संगीतले मानिसलाई सम्मानजनक जीवन दिन सक्छ । उनी भन्छन, मैले आजसम्म ठूलो धन सम्पती जाेडे छैन । तर दर्शक–श्रोताको अपार माया कमाएको छु । गीत–संगीत छोडेर १५–२) हजार रुपैयाँको जागिर खानुपरेको छैन् । यही मेरो सबैभन्दा ठूलो उपलब्धि हो ।’ उनका अनुसार सफलता भाग्यले मात्र होइन, कर्मले पनि निर्धारण गर्छ। त्यसैले उनी अझै पनि निरन्तर सिर्जनामा सक्रिय छन् ।
परिवार र जिम्मेवारीसँगै संगीत यात्रा
हाल उनको परिवारमा श्रीमती, एक छोरा छन्। पारिवारिक जिम्मेवारीसँगै उनी सांगीतिक यात्रालाई निरन्तर अगाडि बढाइरहेका छन् । एक समय वैदेशिक रोजगारमा जान बाध्य भएका शिव आज आफ्नै सिर्जनाबाट चिनिएका कलाकार बनेका छन् । जब छिमेकीले थुथु गर्थे शिवको यात्राको सबैभन्दा भावुक पक्ष भनेको समाजको दृष्टिकोण हो । आजभन्दा केही वर्षअघि खैजडी बोकेर भजन गाउँदै हिँड्दा धेरैले उनलाई हेप्थे । कतिपय छिमेकीले समेत “यति उमेरको केटो खैजडी बोकेर हिँडेको छ” भन्दै व्यङ्ग्य गर्थे । तर उनले कसैको कुरा सुनेनन् । उनले केवल आफ्नो मनको आवाज सुने । आज समय फेरिएको छ । पहिले आलोचना गर्नेहरु नै अहिले उनको प्रशंसा गर्छन्। यही परिवर्तनलाई उनी आफ्नो जीवनको सबैभन्दा ठूलो जित मान्छन् । शिव शर्मा लामिछानेको कथा केवल एक कलाकारको कथा होइन् । यो सपनामाथि विश्वास गर्ने, असफलतासँग नहार्ने र समाजको आलोचनालाई ऊर्जा बनाउने मानिसको कथा हो । दुबईको मरुभूमिदेखि सामाजिक सञ्जालको लोकप्रियता सम्मको यात्रा तय गरेका शिवले एउटा कुरा प्रमाणित गरेका छन् । सफलता कहिल्यै रातारात आउँदैन् । त्यसका लागि संघर्ष, धैर्य, निरन्तरता र आत्मविश्वास चाहिन्छ । आज उनीसँग करोडौँको सम्पती नहुन सक्छ, तर हजारौँ दर्शक–श्रोताको माया छ । र सायद कलाकारका लागि त्योभन्दा ठूलो सम्पति अर्को हुँदैन् ।मैले कलाकारिता रोजेर गल्ती गरेँ भन्ने महसुस आजसम्म भएको छैन। किनकि मानिसको जीवनमा सबैभन्दा ठूलो कुरा आफूले मन पराएको काम गर्न पाउनु हो’ उनले भने ।
यही विश्वास, यही अठोट र यही संगीतले शिव शर्मा लामिछानेलाई आजको स्थानमा र्पुयाएको छ । र उनको यात्रा अझै जारी छ ।