Butwal Today

गौतमबुद्ध विमानस्थल सञ्चालनः सधै अन्योल र अलमलमै

१७ असार २०८३, बुधबार
अ+
अ-

बुटवल । एकल इन्जिनयुक्त पिलाटसपोर्टर तथा सैनिक विमान डकोटा अवतरणको ५६ वर्षपछि भैरहवाको गौतमबुद्ध विमानस्थल अन्तरराष्ट्रिय विमानस्थलमा परिणत भएको घोषणा गरियो ।

२ जेठ २०७९ मा विमानस्थलबाट अन्तरराष्ट्रिय स्तरका जहाजले उडान भर्नसक्ने भनियो । सीमित संख्यामा त्यस्ता उडान पनि भए । तर, विमानस्थलमा हुने भनिएका सबै अन्तरराष्ट्रिय उडान बन्द छन् । गत अप्रिलयता यो विमानस्थलबाट अन्तरराष्टिय विमानस्थलले उडान भरेका छैनन् । पछिल्लो समय नियमित यात्रु पाएर उडान गरिरहेको थाई एयर एशियाले उडान बन्द गरेसँगै अन्तरराष्टिय विमानस्थल सुनसान छ । वायुसेवा कम्पनीहरुले अहिले अफसिजन भन्दै उडान अनुमति नलिएको विमानस्थलका प्रवक्ता कुमार सुजाखु बताउँछन् ।

काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल विकल्पको रुपमा प्रस्तुत गरएिको गौतमबुद्ध विमानस्थलको जति लगानी र चर्चा थियो, त्यसअनुसारका यात्रु र उडान नभएपछि स्थानीय, व्यवसायीमा निराशा छ ।

विमानस्थल निर्माण सम्पन्न भएपछि केही विदेशी एयरलाइन्स कम्पनीले सेवा शुरु गरेपनि यससँगै आरम्भ गर्नुपर्ने धेरै सेवा सञ्चालनका लागि पनि चासो दिइएको छैन ।

कारण, नेपालमा हवाई उडान शुरु भएको करीब ७२ वर्षपछि दोश्रो अन्तरराष्ट्रिय हवाई अड्डाका रुपमा गौतमबुद्ध विमानस्थल परिणत हुँदैगर्दा यसको निर्माणमा खर्च भएको राज्यकोषको रकमको उपलब्धि शुन्य जस्तै छ । विमानस्थलको प्रशासनिक र प्राविधिक सञ्चालनको खर्च समेत विमानस्थलले उठाउन सक्दैन ।

विमानस्थलले गत आर्थिक वर्ष २०८१/८२ मा ३० करोड ९६ लाख रुपैयाँ खर्च गर्दा २९ करोड १८ लाख मात्र आम्दानी गरेको थियो । विमानस्थलका प्रवक्ता कुमार सुजाखुका अनुसार यो रकम कर्मचारीको तलबभत्ता बाहेकको खर्च हो ।

उनले कर्मचारीको तलबभत्ता केन्द्रीय कार्यालयबाटै भुक्तानी हुने भएकाले भैरहवाको विमानस्थलको खर्चविवरणमा नदेखिने बताए । चालु आर्थिक वर्ष २०८२/०८३ को असार १० गतेसम्मको विवरणअनुसार १५ करोड १४ लाख रुपैयाँ खर्च भएकोमा १९ करोड ४२ लाख रुपैयाँ आम्दानी भएको छ । यो दुवै रकम आन्तरिक उडानतर्फको आम्दानी र खर्चसमेत जोडेर आएको रकम भएको प्रवक्ता सुजाखुले बताए ।

वायु सेवा प्रदायक कम्पनीहरुले हाल जल तथा मौसम पूर्वानुमान, दमकल तथा आगजनीसम्बन्धी उपकरणको सेवा शुल्क भुक्तानी गरेपनि विमानस्थल प्रयोग गरेवापत् कुनै पनि शुल्क भुक्तानी गर्नुपर्दैन । सरकारले यति धेरै सुविधा दिँदापनि वायुसेवा कम्पनीको आकर्षण छैन । देशकै ध्वजावाहक नेपाल वायुसेवा निगमले समेत भैरहवाको विमानस्थललाई रोजाईमा राखेको छैन ।

किन यस्तो भयो त ? विमानस्थल निर्माण आरम्भको योजना बनाउनुअघिदेखि निर्माण सम्पन्न भएयताका नीति, रणनीति र सरकारी प्रयास कमजोर भएका कारण यस्तो भएको हो ।

सरकारले केही समयअघि गठन गरेको नागरिक उड्डयन सम्बन्धी उच्चस्तरीय अध्ययन एवम् सुझाव समितिले यस्ता धेरै कारणहरु औल्याएको छ, जसले भैरहवाको गौतमबुद्ध अन्तरराष्टिय विमानस्थल सञ्चालनमा देखिएका उल्झनलाई अगाडि ल्याएको छ ।

अनिलकुमार सिन्हाको अध्यक्षतामा सरकारले २०८१मा गठन गरेको नागरिक उड्ड्यन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवम् सुझाव समितिको रिपोर्टको पहिलो बुँदामै भनिएको छ,–‘नेपालको महत्वपूर्ण पूर्वाधार आयोजना रहेतापनि आयोजनाले अपेक्षा गरेको विमानस्थल आशातीत क्षमतामा सञ्चालनमा देखिदैन । यात्रु चाप न्यून तथा व्यवसायिक घाटाको सम्भावनाका कारण वायुसेवा प्रदायक संस्थाहरु नियमित सेवा दिन इच्छुक देखिएनन् । यथास्थितिमा सम्भाव्यता नदेखिएको अवस्थामा विभिन्न कारण देखाई जबरजस्ती अन्तरराष्टिय उडानहरु सञ्चालन गर्नु गराउनु दीर्घकालीन रुपमा दिगो हुने देखिदैन ।’

अध्ययन समितिले विमानस्थलको भौगोलिक अवस्थितिले नेपालभरिबाट निर्यातजन्य वस्तुहरुको ओसारपसार गर्नका लागि यो विमानस्थल समदुरीको हिसाबले सहज देखिएको भन्दै कार्गो सेवा सञ्चालनको सुझाव दिएको छ ।

विमानस्थलबाट हुने अन्तरराष्टिय यात्रु सेवा आकर्षक बनाउनको लागि नेपाल सरकार मन्त्रिपरिषदले निर्णय गरेका विषयहरुको अक्षरसः पालना गराउन केही समयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत विशेष अनुगमन र निगरानी राख्ने व्यवस्था मिलाई वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण इकोसिस्टमको स्थापना गराउन उपयुक्त हुने सुझाव दिईएको छ ।

विमानस्थललाई चलायमान बनाउनका लागि नेपाल सरकार मन्त्रिपरिषदले २०८१ साउन २८ गते नेपाल नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतमबुद्ध र पोखरा अन्तरराष्टिय विमानस्थल दिगो रुपमा सञ्चालन गर्ने सम्बन्धी कार्ययोजना स्वीकृत गरी सिफारिश गरेपनि निर्णय कार्यान्वयन नभएको भनेको छ । रिपोर्टले राज्यसँग यस्ता पूर्वाधार सञ्चालनका लागि आवश्यक नीति, रणनीति र दृष्टिको कमी रहेको औल्याएको छ ।

सुझाव समितिले गरेका मूख्य सिफारिशहरु

  • गौतमबुद्ध अन्तरराष्टिय विमानस्थललाई कार्गो हब विमानस्थलको रुपमा विकास गर्ने ।
  • हाल त्रिभुवन अन्तरराष्टिय विमानस्थलमा भएको एयर कार्गो सम्बन्धी क्रियाकलापलाई व्यवस्थित तवरले गौतमबुद्ध विमानस्थलबाट गर्न पहल गर्ने ।
    त्रिभुवन विमानस्थलबाट हुने कमर्सियल एयरलाइन्सको बेली कार्गो सर्भिसलाई निरुत्साहित गर्ने ।
  • नेपाली व्यवसायी क्षेत्रलाई वायुयान लिजिङसहित (विमान नकिनी भाडामा लिएर चलाउने) विशेष सुविधा उपलब्ध गराई गौतमबुद्ध अन्तरराष्टिय विमानस्थलमा बेस रहने गरी कार्गो एयरलाइन्स सञ्चालन गर्न आह्वान गरी सुलभ तरिकाले लाईसेन्स तथा अन्य अनुमति इजाजत उपलब्ध गराउने ।
  • विमानस्थलको अन्तरराष्टियस्तरमा प्रवद्र्धनका लागि समिति गठन गर्नुपर्ने । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव अध्यक्ष र पर्यटनसँग सम्बन्धी संस्थाहरु, परराष्ट मन्त्रालय, होटल व्यवसायी, पर्यटन मन्त्रालय, श्रम मन्त्रालय, गौतमबुद्ध अन्तरराष्टिय विमानस्थलका महाप्रबन्धकसमेत रहने ।

सुझाव समितिले भनेजस्तै यसअघि अध्यागमन कार्यालयका वार्षिक प्रतिवेदनमा पनि उस्तै समस्याहरु उल्लेख गरिएका छन् । आर्थिक वर्ष २०७९।८० देखि उठ्दै आएका अधिकांश समस्या समाधान भएकै छैनन् ।

प्रस्थान र आवागमनको सेवा प्रवाहका क्रममा इन्टरनेटको समस्या आएको, वेब क्यामेरामा समस्या देखिएको, रातीको उडान तालिकाले बुटवल भैरहवामा सार्वजनिक यातायात सञ्चालन नहुँदा कर्मचारी लिन र पुर्याउन जानुपर्ने भएपनि इन्धन शीर्षकमा बजेट न्यून रहेको जस्ता समस्या उल्लेख गरिएको छ । यस्तै समस्याका कारण भैरहवा ओर्लिन आएका यात्रु काठमाडौंमा पुर्‍याईएका घटना कैयौं छन् ।

सन् २०२४ मा ८ हजार १ सय ५७ र सन् २०२५ मार्च २० सम्ममा १३ हजार १ सय ८१ यात्रुले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल प्रयोग गरे । विसं २०८१ कात्तिकदेखि नियमित उडान पुनः सञ्चालनमा आएदेखि यात्रुको संख्या बढ्दै थियो । तर खराब मौसमले विमान काठमाडौं डाईभर्ट भए ।
जब, विमान अवतरणलाई सहज बनाउन भू–उपग्रहमा आधारित ‘रिक्वार्ड नभिगेशन परफर्मेन्स–अथोराइजेशन रिक्वार्ड’ (आरएनपी–एआर) अवतरण प्रणाली जडान भयो, तब वायुसेवाले उडान अनुमति लिनै छाडे ।

प्रतिबद्धता धेरै काम थोरै
हरेक सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री गौतमबुद्ध विमानस्थल आउँदा सबै जटिलता समाधान गरेर विमानस्थल नियमित रुपमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउँछन् । तर ती प्रतिबद्धताको कार्यान्वयन पक्ष कमजोर छ ।
पछिल्लो समय अर्थमन्त्री स्वर्णिम वाग्लेले पनि भैरहवाको विमानस्थललाई छिटोभन्दा छिटो नियमित रुपमा सञ्चालन गर्ने भन्नेमा गम्भीर रहेको प्रतिबद्धता जनाएका छन् ।

३ असार २०८३ मा नेपाल चेम्बर अफ कमर्सको कार्यक्रममा उनले भने,–‘भैरहवा र पोखरा विमानस्थल सञ्चालनका लागि सरकार निरन्तर लागिपरेको छ । यी विमानस्थल निर्माण गर्दा लिइएको ऋणको किस्ता सरकारले नियमित तिर्नुपर्ने भएकाले यसलाई सञ्चालनमा ल्याउन हामी बढी गम्भीर छौँ ।’ परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणमा पनि कसरी यी विमानस्थललाई सुचारु गर्ने, एयर रुट्स (हवाई मार्ग) र विमानस्थल व्यवस्थापनमा कसरी सहकार्य गर्ने भन्ने विषय नै मुख्य एजेन्डाका रुपमा रहेको उनले बताएका थिए ।

यसअघि पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले विमानस्थल नियमित सञ्चालन गर्नका लागि एक महिनामा २ दिन भैरहवा बस्न तयार रहेको बताएका थिए । न त उनी एक महिनामा २ दिन भैरहवा बस्न आए न विमानस्थलमा जहाज ।

२०८१ मंसिर ८ मा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले आयोजना गरेको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको दिगो सञ्चालनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै भनेका थिए–‘महिनामा २ पटक विमानस्थलकै लागि भैरहवा आउनेछु, संस्कृति र पर्यटन जोडिएकाले भैरहवाबाटै आफ्नो कार्यकक्ष चलाऔँ भन्ने लागेको छ । मेची–महाकालीको बीचमा रहेको स्थल, लुम्बिनी र पोखरासमेत नजिक भएकाले यो विमानस्थल चलाउनुपर्छ भनेर लागेका हौँ ।’ उनले भैरहवामा ल्याउने निर्णय भइसकेको भनेका विमानस्थलसँग सम्बन्धित श्रम, भिसा, मेडिकल, म्यानपावर कम्पनी लगायतका अत्यावश्यक कार्यालय पनि आएनन् ।

यसअघि २०७९ माघ २१ मा भैरहवामै कान्तिपुर मिडिया ग्रुपले आयोजना गरेको ‘कान्तिपुर लुम्बिनीको सामर्थ्य’ विषयक अर्थ सामाजिक बहसको मुख्य वक्ताका रुपमा बोल्दै तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल नियमित रुपमा सञ्चालन गर्न कसैले रोकेर नरोकिने बताएका थिए ।

‘यो विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउनका लागि कसैले पनि रोक्न सक्दैन । त्यसका लागि के गर्नु पर्छ भन्ने सम्बन्धमा छलफल गर्न छिट्टै सरोकारवालाहरुको बैठक बस्दै छ । त्यही बैठकबाट सबै समस्या समाधानका उपायहरु निकालेर कार्यान्वयनमा लगिनेछ’–उनले भनेका थिए–‘कसैले यो विमानस्थल सेतो हात्ती हो चल्न सक्दैन भन्दै आएका छन्, म उहाँहरुलाई भन्न चाहन्छु । विमानस्थल पूर्ण क्षमताका साथ चल्नेछ । र त्यसमा कसैको अवरोध हुनेछन् । क्षमताको भरपूर र उच्चतम उपयोग कसरी गर्ने भन्ने विषयमा निकट भविष्यमा छलफल हुँदैछ ।’ पौडेलले भनेको यो कुरा पनि भाषणमै सीमित रह्यो ।

२०८१ चैत ७ गते प्रतिनिधि सभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिएका थिए । उनले विमानस्थलमा यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्यान्डलिङ, ल्याण्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा छुट तथा प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको उल्लेख गरेका थिए ।

उनले भनेका थिए–‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दिगो सञ्चालनका लागि सरकारले सम्बद्ध निकायहरूसँग छलफल गर्दै कार्ययोजना बनाएको छ र कार्यान्वयन भइरहेको छ । यात्रु सेवा शुल्कमा छुट, ग्राउण्ड ह्यान्डलिङ, ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा छुट जस्ता सहुलियत र प्रोत्साहनका कार्यक्रमहरू सञ्चालनमा ल्याइएको छ ।’

तर, प्रधानमन्त्री र मन्त्रीहरुले विमानस्थल सञ्चालनका लागि जोडबल दिइरहेको बताएपनि सरकारले भैरहवामा स्थापना गर्नुपर्ने अत्यावश्यक कार्यालयहरु स्थापना नगर्दा विमानस्थल सञ्चालनको दिगोपनाबारे विश्वासको वातावरण सिर्जना हुन सकेको छैन । हरेक सरकारका मन्त्री, प्रधानमन्त्रीहरुले विमानस्थल सञ्चालनबारे चासो र चिन्ता व्यक्त गरेपनि त्यसको व्यवहारिक पक्ष भने कमजोर छ ।
जसका कारण विमानस्थल बन्ने र त्यसपछि व्यापार व्यवसायले फड्को मार्ने आशा गरेर लगानी गरेका उद्योगी, व्यवसायी थलिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्ण प्रसाद शर्मा विमानस्थलमा सरकारले ४० अर्ब र निजी क्षेत्रले विमानस्थललाई हेरेर ८० अर्ब लगानी गरेपनि विमानस्थल सञ्चालनमा नआउँदा आफूहरु मर्कामा परेको बताए । ‘सरकारको ४० अर्ब खर्च भयो, निजी क्षेत्रले त्यही विमानस्थलले विजनेश ल्याउँछ भन्ने विश्वासमा ८० अर्बजति पर्यटन क्षेत्रमा लगानी गरेको छ, यो लगानी डुब्ने अवस्थामा पुगिसक्यो, तरपनि सरकारलाई चासो छैन’–उनी भन्छन् । उनले सरकारका मन्त्रीहरु पटकपटक आएर आशा देखाएर जाने र कार्यान्वयन नगर्ने गरेको बताउँछन् ।

‘राज्य उदासीन भयो, उहाँहरुलाई पटक पटक कार्यक्रममा ल्याइएको छ, नचल्ने भए किन आशावादी बनाउनुहुन्छ भनेर भन्ने गरेका छौं, चल्ने भए चलाएर देखाउनुपर्‍यो, सरकारका अभिव्यक्तिलाई अब कसरी पत्याउने ?’–उनी भन्छन्‌–यहाँबाट भारत र अरु देशहरुमा पनि उडान होला भन्ने आशा थियो अब त कुनै आशा छैन, लुम्बिनी प्रदेशकै अर्थतन्त्रमा संकट सिर्जना भयो ।’

उनले सरकारले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट उडानका लागि भारतसँग रुट परमिटका बारेमा छलफल नै नगरेकोले पनि यस्तो समस्या आएको बताए ।

आवश्यकता र उपयोगिता नहेरी जथाभावी विमानस्थल निर्माण गरिनु र प्रयास हुनु राज्यकोष र जनताबाट संकलित करको दुरुपयोग भएको पूर्वाधारविद् सूर्यराज आचार्य बताउँछन् । उनी ठूला पूर्वाधार बनाउनेतर्फ भन्दा बढी सञ्चालन र त्यसपछिको लाभहानिको बारेमा सोंचविचार गरेर नीति निर्माण र बजेट विनियोजन गर्नुपर्ने बताउँछन् ।

नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले प्राधिकरणले अन्तरराष्टिय उडान हुनसक्ने सम्भावना भएका विमानस्थलहरुमा नियमित उडानका लागि पहल गरिरहेको बताए । उनले राज्यको स्रोतसाधनको उपयोग गरी निर्माण भएका विमानस्थलको उपयोगका लागि नीति निर्माण तहबाट काम अगाडि बढेकोले प्राधिकरणले सोहीअनुसार तयारी गरेको बताए ।

उनका अनुसार तीन अन्तर्राष्ट्रिय विमानस्थलसहित अहिले ५५ वटा विमानस्थल रहेकामा ३० वटामा फाटफुट उडान हुन्छ भने २५ वटा बन्द छन् ।

ठूलो धनराशी खर्चेर बनेको थियो विमानस्थल
देशकै दोस्रो ठूलो विमानस्थलका रूपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको हो । यसको निर्माणमा ३५ अर्ब ६६ करोड रुपैयाँ लागेको थियो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा २०७१ माघ १ मा शिलान्यास भएको विमानस्थल निर्माणमा झन्डै आठ वर्ष लागेको थियो ।

२०७९ जेठ २ मा यसको उद्घाटन भएको थियो । उद्घाटन गरेकै दिन उडान थालेको जजिरा एअरलाइन्सले आठ महिनापछि पुस ६ मा विभिन्न कारण देखाउँदै रोकेको थियो । हिमालयन एअरलाइन्सले पनि उस्तै निर्णय गर्‍यो र अन्तर्राष्ट्रिय उडान सञ्चालन गरेको केही समयमै रोक्यो । बीचमा ठप्प भएका अन्तरराष्ट्रिय उडान कात्तिकदेखि फेरि शुरु भएका थिए ।

चार वटा विदेशी कम्पनी जजिरा एयरवेज, फ्‌लाई दुबई, थाइ एयर एशिया र कतार एयरवेजका जहाज आउन थालेपछि भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत कात्तिकदेखि गुल्जार देखिन थालेको थियो । अन्तर्राष्ट्रिय उडान नियमित हुँदा लुम्बिनीसँगै कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका नागरिकलाई पनि सहज हुने अपेक्षा थियो । यो क्षेत्रका नागरिकले भैरहवाको विमानस्थल प्रयोग गर्दा लुम्बिनी प्रदेशकै अर्थतन्त्रमा सकारात्मक संकेत देखिन थालेको थियो ।

कुनै समयमा चार वटा अन्तर्राष्ट्रिय विमानले उडान भर्दा उत्साह छाएको लुम्बिनी प्रदेशमा फेरि विमानस्थल सञ्चालनको नियमितताको झिनो आशा छ ।
‘विमानस्थल राम्ररी सञ्चालनमा आउला र पर्यटक आउलान् भन्ने आशा त छ, बुटवलका होटल व्यवसायी माधव नेपाल व्यंगात्मक शैलीमा भन्छन्,-सरकारले यति धेरै रकम खर्च गरेर बनाएको संरचना यत्तिकै सडेर जान्न कि भन्ने सकारात्मक भावना नै छ, तर कहिलेसम्म पर्खिनुपर्ने हो, यो कुरा बताइदिए हामी त्यतिबेला मात्रै लगानी बढाउँथ्यौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?