Butwal Today

भैरहवामा २ करोड ५२ लाखको गहना बरामद

१५ आश्विन २०८३, बिहीबार
अ
अ+
अ-

रुपन्देही । भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले भैरहवाबाट करिब २ करोड ५२ लाख रुपैयाँ मूल्य बराबरका सुनका गहना बरामद गरेको छ। गहना ल्याउँदै गरेकी एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी नायव उपरीक्षक दुर्गा थापाका अनुसार काठमाडौँ–१९ की ४६ वर्षीया ईला पटेलले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा गहना बरामद गरिएको हो।

सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्ति गेटमा भारतबाट सुनका गहना ल्याइँदै गरेको सूचनाका आधारमा जाँच गर्ने क्रममा सीमा सुरक्षा गुल्म डण्डाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले पटेललाई रोकेर खानतलासी गरेको थियो। खानतलासीका क्रममा २ किलो ६०५ ग्राम तौलका विभिन्न किसिमका सुनजस्तो देखिने पहेँलो पदार्थबाट बनेका गहना फेला परेका थिए। बरामद गहनाको मूल्य २ करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ बराबर रहेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गहनाको परीक्षणका लागि रुपन्देही सुनचाँदी व्यवसायी संघसँग समन्वय गरिएको थियो। परीक्षणका क्रममा बरामद सामग्रीमध्ये १ किलो सुन भएको प्रमाणित भएको सशस्त्र प्रहरी नायव उपरीक्षक थापाले बताए।

बरामद गहनामा ९ थान हार, ८१ थान औँठी, १३ थान चुरा, ४ थान माला, हसुली किसिमका ८ थान सिक्री, पत्थरसहितका २० जोर झुम्का, २४ थान झुम्का, १४ थान गोली औँठी, १ थान लकेट ९जन्तर०, १७ थान पोते, २४ थान सिक्री, १८८ जोर बाली तथा जुली, पत्थरसहितका ६४ जोर टप, २२ थान नाकको फुली, २ थान पत्थरवाला हार, १० थान सानो झुम्का, ११ जोर कानको बाली र ८ थान ब्रासलेटलगायत छन्। सशस्त्र प्रहरीले पक्राउ परेकी पटेल र बरामद गहना आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बिहीबार नै भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाएको जनाएको छ। अब भन्सार कार्यालयबाट गहनाको स्रोत, स्वामित्व, आयातसम्बन्धी कागजात तथा प्रचलित कानुनअनुसारको कारबाहीबारे थप प्रक्रिया अघि बढ्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?