© 2026
भैरहवा ।
बहिरा तथा फरक क्षमता भएका व्यक्तिलाई लक्षित गरी भैरहवामा सञ्चालन गरिएको १५ दिने हाउसकिपिङ तालिम सम्पन्न भएको छ । तालिम दिगो पर्यटन परियोजना, राष्ट्रिय बहिरा महासंघ नेपाल र होटल एसोसिएशन संघ नेपाल, लुम्बिनी प्रदेशको सहकार्यमा सञ्चालित तालिममा ३५ जनाको सहभागिता रहेको थियो ।
तालिममा सहभागी विद्यार्थीहरुलाई होटलका कोठा व्यवस्थापन, सरसफाइ, पाहुनालाई प्रदान गरिने सेवा तथा हाउसकिपिङसँग सम्बन्धित आवश्यक सैद्धान्तिक र व्यावहारिक सीप प्रदान गरिएको थियो ।
तालिमपछि सहभागीहरूले स्थानीय होटलमा काम गर्ने अवसर पाउने र अनुभव तथा दक्षता बढाउँदै ठूला होटल तथा अन्य पर्यटकीय क्षेत्रमा समेत रोजगारीका अवसर पाउन सक्ने अपेक्षा गरेको छन् ।
होटल एसोसिएसन नेपाल, लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले तालिमबाट सहभागीले आवश्यक सीप हासिल गरेको उल्लेख गर्दै आगामी दिनमा थप तीन महिने इन्टर्नसिपको व्यवस्था गरी रोजगारीमा जोड्ने प्रतिबद्धता जनाए । उनले लुम्बिनी प्रदेशका होटलहरूको आवश्यकताअनुसार सहभागीलाई कार्यस्थलमा अनुभव दिलाएर दक्ष बनाएपछि स्थायी रोजगारीको अवसर सिर्जना गर्ने बताए।
नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को सहलगानीमा सञ्चालित दिगो पर्यटन परियोजनाका राष्ट्रिय परियोजना प्रबन्धक धर्म दवाडीले पर्यटन क्षेत्रमा दक्ष जनशक्तिको माग र आपूर्तिबीचको अन्तर घटाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए । परियोजनाले कम्तीमा पाँच हजार जनालाई तालिम तथा रोजगारीमा जोड्ने लक्ष्य लिएको उनले जानकारी दिए ।
दवाडीका अनुसार महिला, सीमान्तकृत समुदाय तथा फरक क्षमता भएका व्यक्तिको पर्यटन क्षेत्रमा सहभागिता न्यून रहेकाले उनीहरूलाई मूलधारमा ल्याउन विशेष प्राथमिकता दिइएको छ। तालिमपछि ‘अन–द–जब ट्रेनिङ’मार्फत सहभागीलाई आयआर्जनसँग जोड्ने प्रयास गरिएको उनले बताए ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले तालिमबाट प्राप्त सीपलाई रोजगारी र आत्मनिर्भरताको आधार बनाउन सहभागीलाई आग्रह गरे । पर्यटन तथा होटल क्षेत्रमा हाउसकिपिङसहित विभिन्न क्षेत्रमा रोजगारीको सम्भावना रहेकाले सीपलाई व्यवहारमा उतार्नुपर्नेमा उनले जोड दिए ।