© 2026
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीको एक महिना पूरा भएको छ। बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याए पनि प्रभावित क्षेत्र अझै पूर्णरूपमा सामान्य अवस्थामा फर्किन सकेका छैनन्। बाढीबाट घर, सडक, पुल, जलविद्युत् आयोजना, व्यापारिक संरचना तथा कृषि क्षेत्रमा ठूलो क्षति पुगेको छ। कतिपय स्थानमा भग्नावशेष हटाउने कामसमेत जारी छ भने विस्थापित परिवारको स्थायी पुनःस्थापना अझै चुनौती बनेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विवरणअनुसार बाढीमा १ हजार ४५३ जनाको मृत्यु भएको छ भने ५ हजार २८५ जना अझै बेपत्ता छन्। प्रभावित क्षेत्रबाट १३ हजार ७९५ जनाको उद्धार गरिएको छ। सरकारको प्रारम्भिक क्षति तथा आवश्यकता मूल्यांकनले बाढीबाट ४ खर्ब ८ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको र पुनःस्थापना तथा पुनर्निर्माणका लागि ७ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढी आवश्यक पर्ने देखाएको छ।
सडक र पुल पुनःनिर्माण चुनौती
बाढीले बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकका विभिन्न खण्डमा क्षति पुर्याएपछि रसुवासँगको स्थल यातायात सम्पर्क लामो समय अवरुद्ध भयो। नेपाली सेनाले नुवाकोटको देवीघाटमा अस्थायी एक्रो पुल निर्माण गरेपछि केही क्षेत्रमा आवतजावत सहज भएको छ। विदुर–बेत्रावती सडकखण्डको अधिकांश भाग सञ्चालनमा आए पनि केही स्थानमा ट्र्याक खोल्ने काम जारी छ। बेत्रावतीमा ७२ मिटर लामो बेलीब्रिज जडानको तयारी भइरहेको छ। गल्छी–स्याफ्रुबेँसी सडक असोजभित्र सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि स्याफ्रुबेँसी–रसुवागढी खण्डमा भएको ठूलो क्षतिका कारण थप पुनर्निर्माण आवश्यक देखिएको छ।
निरन्तर बर्षात टेन्टमै विस्थापित परिवार
निरन्तर पानि परिरहेको छ तर घर बगेका वा नभएका धेरै परिवार अझै अस्थायी टेन्ट तथा आश्रयस्थलमा बसिरहेका छन्। वर्षाका कारण टेन्टभित्र पानी पस्दा खाद्यान्न, लत्ताकपडा र दैनिक आवश्यक सामग्री जोगाउनसमेत समस्या भइरहेको छ। नुवाकोटका चार स्थानीय तहमा मात्रै १ हजार ९५५ परिवारको आवासमा क्षति पुगेको प्रारम्भिक तथ्यांक छ। विदुर नगरपालिकामा मात्रै १ हजार ६७८ परिवार प्रभावित भएका छन्। स्थायी आवास निर्माण नभएसम्म प्रभावित परिवारलाई आवास भाडाका लागि संघीय सरकारले चार सदस्यसम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ तथा चार जनाभन्दा बढी भए थप प्रत्येक सदस्यका लागि २ हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको छ।
बाढीबाट रसुवाको सडक सञ्जालमा ठूलो क्षति पुगेपछि उत्तरी क्षेत्रमा आवतजावत अझै कठिन छ। विशेषगरी स्याफ्रुबेँसी–रसुवागढी सडकखण्डको पुनर्निर्माणका लागि सर्वेक्षण तथा वैकल्पिक पहुँचको काम अघि बढाइएको छ। एक महिनाको अवधिमा केही सडक र पुल अस्थायी रूपमा जोडिए पनि हजारौँ परिवारको स्थायी पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण र बाढीले बगाएका बस्तीको भविष्य निर्धारण अझै बाँकी छ।