© 2026
काठमान्डौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि आज निर्वाचन हुँदैछ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम उम्मेदवार सूचीअनुसार महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ । उक्त पदमा यी दुई जनाको मात्रै उम्मेदवारी परेको छ ।
महामन्त्री पदका लागि भने ९ जना उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारहरूमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, मनिष झा, राजुनाथ पाण्डे, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य रहेका छन् ।
यसअघि आयोगले सार्वजनिक गरेको सूचीमा महामन्त्रीका उम्मेदवारका रूपमा समावेश गरिएका जगदीश खरेलले भने आफ्नो उम्मेदवारी फिर्ता लिइसकेको जानकारी दिएका छन् ।
सहमहामन्त्री पदका लागि ११ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारहरूमा रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री रहेका छन् ।
त्यस्तै, महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुना कुमारी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
यसअघि पुरुष खुलातर्फको उपसभापति पदमा स्वर्णीम वाग्ले सर्वसम्मत निर्वाचित भइसकेका छन् । पार्टी सभापति रवि लामिछाने पनि सर्वसम्मत चयन भएका छन् ।
महाधिवेशनमा आज बाँकी रहेका ५ पदाधिकारी पदका लागि मतदान हुने कार्यक्रम छ ।
६ दिनदेखि जारी महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधिहरू भने निर्वाचनअघि नै घर फर्किसकेका छन् ।