Butwal Today

रूपन्देहीमा लागू औषध तथा अवैध तस्करी विरुद्ध संयुक्त अभियान

१२ असार २०८३, शुक्रबार
अ+
अ-

बुटवल । लागू औषध तथा अवैध तस्करी विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा रूपन्देही जिल्लामा चारवटा सामाजिक संस्थाहरूको संयुक्त आयोजनामा विभिन्न चरणबद्ध कार्यक्रमहरू सम्पन्न भएका छन्।

यस अभियानको आयोजना लुम्बिनी सामाजिक सचेतना संस्था, कानुन विद्यार्थी समाज, भैरव सामाजिक सचेतना संस्था र पब्लिक भ्वाईस नेपालले संयुक्त रूपमा गरेका हुन्। प्रथम चरण अन्तर्गत बेलवासमा चारवटै संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षसहित १६ जना प्रतिनिधिहरूको सहभागितामा संस्थागत अभियानका बिषयमा छलफल सम्पन्न भयो। छलफलमा रूपन्देहीमा लागू औषधको बढ्दो समस्यालाई न्यूनीकरण गर्न संस्थागत रूपमा प्रभावकारी भूमिका कसरी निर्वाह गर्न सकिन्छ भन्ने विषयमा विचार–विमर्श गरिएको थियो।

दोस्रो चरणमा इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी निशान्त श्रीवास्तवसँग भेटघाट गरी लागू औषध नियन्त्रण तथा रोकथामका लागि संस्थागत सहकार्य गर्ने विषयमा छलफल गरिएको थियो। सो अवसरमा विद्यालय क्षेत्र वरपर सुर्तीजन्य पदार्थ तथा गुट्खा बिक्री गर्ने पसलहरूलाई कडा कारबाही गर्न तथा विद्यालय पोसाकमै लागू औषध सेवन गर्ने विद्यार्थीहरूलाई तत्काल नियन्त्रणमा लिन अनुरोध गरिएको थियो। डिएसपी श्रीवास्तवले यस विषयमा भोलिदेखि नै कडाइका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

तेस्रो चरण अन्तर्गत जिल्लाका विभिन्न पालिकाका विद्यालयहरूमा लागू औषधविरुद्ध सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो। यस क्रममा श्री जनजागृति माध्यमिक विद्यालय तिलोत्तमा, श्री नयाँ गाउँ माध्यमिक विद्यालय बुटवल, श्री सैनामैना नमुना माध्यमिक विद्यालय सैनामैना र श्री पशुपति माध्यमिक विद्यालय सैनामैनाका गरी करिब ८ सय जना विद्यार्थीलाई लागू औषधको असर, रोकथाम र सचेतनाबारे जानकारी प्रदान गरिएको थियो।

उक्त कार्यक्रम लुम्बिनी सामाजिक सचेतना संस्थाका अध्यक्ष शंकर भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन लक्की अधिकारीले गरेका थिए।आयोजक संस्थाहरूले लागू औषधमुक्त समाज निर्माणका लागि आगामी दिनमा पनि सम्बन्धित निकायहरूसँग समन्वय गर्दै यस्ता जनचेतनामूलक अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?