© 2026
विराटनगर। नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले नेकपा एमालेसँग तत्काल पार्टी एकता नभए पनि सडक, संसद र आगामी निर्वाचनमा कार्यगत सहकार्य गर्ने घोषणा गरेका छन्।
विराटनगरमा आयोजित प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले समाजवादी मोर्चामा आबद्ध दलहरूसँग छिट्टै एकता हुने र त्यससँगै नेकपा एमालेसँग पनि सहकार्यको प्रक्रिया अघि बढ्ने बताएका हुन्। उनले भने, “हिजै हामी समाजवादी मोर्चामा भएकाहरूसँग एकता छिट्टै हुँदैछ र नेकपा एमालेसँग सहकार्य हुँदैछ। संसदमा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश तथा स्थानीय तहको चुनावमा सहकार्य गर्ने सहमति बन्दैछ।”
प्रचण्डले तत्काल एमालेसँग पार्टी एकताको कुनै छलफल नभएको स्पष्ट पार्दै अहिलेको प्राथमिकता कार्यगत सहकार्य रहेको बताए। संसदमा संयुक्त रूपमा प्रस्तुत हुने, सडक आन्दोलनमा सहकार्य गर्ने तथा आगामी प्रदेश र स्थानीय तह निर्वाचनमा आवश्यक समन्वय गर्ने विषयमा सकारात्मक छलफल भइरहेको उनको भनाइ थियो। कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफूविरुद्ध हुने आलोचना र सामाजिक सञ्जालमा आउने टिप्पणीलाई सामान्य रूपमा लिन आग्रह गरे। परिस्थितिअनुसार साहसी र अप्रत्याशित राजनीतिक निर्णय लिन सक्ने नेतृत्व आफूहरूसँग रहेको दाबी गर्दै उनले कार्यकर्तालाई नडराई र नहिचकिचाई अघि बढ्न आह्वान गरे।
“हामी घण्टी बजाउने भिक्षु होइनौँ। हामी जस्तोसुकै क्रमभङ्ग गर्न तयार भएका मानिस हौँ। महाधिवेशनमा अर्को क्रमभङ्ग हुन्छ। तपाईंहरू बोल्ड भएर अगाडि आउनुस्, नहिचकिचाइकन, नडराइकन। प्रचण्डको अन्तिम क्रमभङ्ग हेरेर अघि बढ्नुस्,” उनले भने।
प्रचण्डको पछिल्लो अभिव्यक्तिलाई नेपाली वाम राजनीतिमा नयाँ समीकरणको संकेतका रूपमा हेरिएको छ। विशेषगरी आगामी प्रदेश तथा स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै वाम शक्तिबीच सहकार्यको सम्भावना फेरि एकपटक राजनीतिक वृत्तमा चर्चाको विषय बनेको छ।