Butwal Today

रास्वपा महाधिवेशनपछि राजदूत नियुक्ति प्रक्रिया तीव्र, १३ देशका लागि करिब ४ हजार आवेदन

१० असार २०८३, बुधबार
अ+
अ-

काठमाडौं । परराष्ट्र मन्त्रालयले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महाधिवेशन सम्पन्न भएलगत्तै १३ देशका लागि राजदूत नियुक्ति प्रक्रियालाई तीव्र बनाउने तयारी गरेको छ। खुला आवेदनमार्फत राजदूत छनोटका लागि मन्त्रालयमा करिब ४ हजार आवेदन प्राप्त भएको जनाएको छ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार परराष्ट्रमन्त्री शिशिर खनाल र प्रधानमन्त्री बालेन्द्र शाह महाधिवेशनको कार्यक्रमबाट फर्किएपछि आवेदनहरूको विस्तृत मूल्याङ्कन तथा सर्टलिस्टिङ प्रक्रिया अघि बढाइनेछ। मन्त्रालयले आवेदनकर्ताहरूको व्यक्तिगत गोपनीयताको सम्मान गर्दै नामावली सार्वजनिक नगर्ने निर्णय गरेको छ। हाल आवेदनहरू रीतपूर्वक दर्ता भए वा नभएको, दोहोरो आवेदन परेको छ वा छैन भन्ने विषयमा प्रारम्भिक परीक्षण भइरहेको बताइएको छ। एउटै व्यक्तिले १० वटा फरक देशका लागि आवेदन दिएको समेत पाइएको मन्त्रालय स्रोतले जनाएको छ।

परराष्ट्र मन्त्रालयले गत जेठ १४ गते अमेरिका, चीन, भारत, बेलायत, अष्ट्रेलिया, साउदी अरेबिया, बंगलादेश, इजरायल, ओमान, दक्षिण कोरिया, मलेसिया, बहराइन र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गर्न खुला आवेदन आह्वान गरेको थियो। आवेदन दिने अन्तिम मिति जेठ २२ गते साँझ ५ बजेसम्म तोकिएको थियो।

नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत छनोट प्रक्रिया अघि बढाइएको हो। यसअघि राजनीतिक सिफारिस वा भागबण्डाका आधारमा राजदूत नियुक्त हुने अभ्यासको आलोचना भइरहेका बेला सरकारले योग्य र सक्षम व्यक्तिलाई अवसर दिने उद्देश्यसहित नयाँ प्रणाली लागू गरेको जनाएको छ।

परराष्ट्र मन्त्रालयले तयार पारेको ‘टर्म्स अफ रेफरेन्स टिओआर’ अनुसार राजदूत बन्न कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक हुनुपर्ने, मान्यता प्राप्त विश्वविद्यालयबाट न्यूनतम स्नातक तह उत्तीर्ण गरेको तथा नेपालको विदेश नीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे पर्याप्त ज्ञान भएको हुनुपर्ने व्यवस्था छ।

त्यस्तै, भ्रष्टाचार वा नैतिक पतनसँग सम्बन्धित अपराधमा दोषी ठहरिएको, सरकारी सेवाबाट बर्खास्त भएको, विदेशी स्थायी बसोबास अनुमति लिएको वा विदेशी संस्थामा प्रत्यक्ष आबद्ध रहेको व्यक्ति राजदूत नियुक्तिका लागि अयोग्य मानिनेछ। मन्त्रालयका अनुसार प्राप्त आवेदनहरूमध्येबाट उत्कृष्ट उम्मेदवार छनोट गरी सरकारसमक्ष सिफारिस गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?