Butwal Today

साइबर सुरक्षाका लागि डिजिटल साक्षरता आवश्यक

९ असार २०८३, मंगलवार
अ+
अ-

बुटवल । सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै साइबर अपराधका घटना बढ्दै गएपछि नागरिकलाई डिजिटल सुरक्षाबारे सचेत बनाउन बुटवल उपमहानगरपालिका वडा नं.१० को समन्वय तथा पब्लिक भ्वाईस नेपाल लुम्बिनीको आयोजनामा दुईदिने साइबर सुरक्षा तथा डिजिटल साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

डिजिटल प्रविधिको सुरक्षित प्रयोगबारे नागरिकलाई जानकारी गराउँदै साइबर अपराधका जोखिम, त्यसबाट बच्ने उपाय तथा जिम्मेवार डिजिटल व्यवहारबारे सचेतना फैलाउने उद्धश्य सहित कार्यक्रम गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधि, स्थानीय बासिन्दा तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै वडा नं.१० का अध्यक्ष बलबहादुर पुनले प्रविधिको पहुँच विस्तारसँगै यसको दुरुपयोगका घटना पनि बढ्दै गएको बताए। उनले सामाजिक सञ्जाल, अनलाइन माध्यम तथा डिजिटल प्लेटफर्म प्रयोग गर्दा नागरिकले विशेष सावधानी अपनाउनुपर्ने आवश्यकता औंल्याउँदै अपरिचित व्यक्ति वा शंकास्पद समूहसँग अनावश्यक सम्पर्क र संवाद नगर्न आग्रह गर्नुभयो। डिजिटल युगमा जिम्मेवार नागरिकको भूमिका अझ महत्वपूर्ण भएको उनको भनाइ थियो।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख निशान्त श्रीवास्तवले साइबर सुरक्षामा सामान्य लापरबाहीले समेत ठूलो आर्थिक तथा सामाजिक क्षति निम्त्याउन सक्ने बताए। उनले ओटीपी, पासवर्ड, बैंक खातासम्बन्धी विवरण तथा अन्य गोप्य जानकारी कसैलाई पनि नदिन आग्रह गर्दै अपरिचित व्यक्तिबाट आउने आकर्षक प्रस्ताव, पुरस्कार वा लगानीका प्रलोभनमा नपर्न सुझाव दिए। कुनै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई जानकारी गराउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा प्रशिक्षण दिँदै अधिवक्ता दामोदर घिमिरेले साइबर अपराधलाई नेपालको कानुनले गम्भीर अपराधका रूपमा परिभाषित गरेको उल्लेख गरे। उनले सामाजिक सञ्जालको दुरुपयोग, व्यक्तिगत विवरण चोरी, अनलाइन ठगी, बैंकिङ अपराध तथा साइबर हिंसाजस्ता घटनामा कानुनी कारबाहीको स्पष्ट व्यवस्था रहेको जानकारी दिए। यद्यपि साइबर अपराधको प्रभावकारी नियन्त्रणका लागि कानुनी कार्यान्वयनलाई थप सुदृढ बनाउन आवश्यक रहेको उनले बताए।

कार्यक्रम संयोजक तथा वडा सदस्य रमेश प्रसाद अधिकारीले वडावासीलाई सुरक्षित डिजिटल संस्कृतिसँग जोड्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। उनले साइबर अपराध नियन्त्रणका लागि नागरिक, सुरक्षा निकाय, स्थानीय सरकार तथा राज्यका अन्य संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए। यस्ता कार्यक्रमले नागरिकमा सचेतना अभिवृद्धि गर्दै डिजिटल जोखिम न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो।

पब्लिक भ्वाईस नेपालका अध्यक्ष राधा बस्नेतले पछिल्लो समय सूचना प्रविधिमा सहज पहुँच बढेसँगै जानेर वा नजानेर साइबर अपराधका घटनामा संलग्न हुने तथा पीडित बन्ने क्रम बढिरहेको बताईन। उनले डिजिटल साक्षरता अभिवृद्धि नगरी साइबर अपराध नियन्त्रण सम्भव नरहेको उल्लेख गर्दै समाजका सबै वर्गलाई प्रविधिको सुरक्षित प्रयोगबारे शिक्षित बनाउनुपर्ने आवश्यकता भएको बताईन। स्मार्टफोन, ल्यापटप तथा इन्टरनेटमा आधारित सेवाहरू नागरिकको दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेका छन्। प्रविधिको सही उपयोगले जीवनशैली सहज, छरितो र प्रभावकारी बनेको भए पनि यसको दुरुपयोगले आर्थिक, सामाजिक तथा मानसिक क्षति निम्त्याउने घटनाहरू बढिरहेका छन्। सामाजिक सञ्जाल ह्याक गर्ने, व्यक्तिगत विवरण चोरी गर्ने, बैंक खाताबाट रकम अपचलन गर्ने, अनलाइन ठगी तथा चरित्रहत्यासम्बन्धी गतिविधिहरू पछिल्ला वर्षहरूमा चुनौतीका रूपमा देखिएका छन्।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा साइबर सुरक्षाका आधारभूत सिद्धान्त, सुरक्षित पासवर्डको प्रयोग, सामाजिक सञ्जालको जिम्मेवार उपयोग, अनलाइन ठगीबाट बच्ने उपाय, डिजिटल गोपनीयता तथा साइबर अपराध सम्बन्धी कानुनी व्यवस्थाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागीहरूले कार्यक्रमलाई समयसापेक्ष र उपयोगी भएको प्रतिक्रिया दिएका छन्। प्रविधिमाथिको बढ्दो निर्भरतासँगै साइबर सुरक्षाको चुनौती पनि जटिल बन्दै गइरहेका बेला यस्ता सचेतनामूलक कार्यक्रमले सुरक्षित, जिम्मेवार र सचेत डिजिटल समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?